रुपन्देहीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु

Posted on: 25 Jan, 2018

माघ ११, बुटवल | जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् । 

घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो । 

टिपरको ठक्करबाट सख्त घाइते हुनुभएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पुर्याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!