सडकको दायाँबायाँ र मध्यभागमा फुलबारी

Posted on: 05 Feb, 2018

माघ २२, लुम्बिनी | बुटवल–बेलहिया सडकखण्डअन्तर्गत मणिग्रामदेखि बुटवल राजमार्गसम्मको छ लेन सडकको दायाँबायाँ र मध्यभागलाई आकर्षक बनाइएको छ । 

निर्माण कार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्यअनुरुप ग्रीन बेल्टमा फूलबारी निर्माण गरिएपछि आकर्षक देखिएको हो । बुटवल वडा नं १० र ११ को कालिकानगर क्षेत्रका स्थानीय टोल समितिको सक्रियतामा विभिन्न पार्क निर्माण गरी हरियाली फूलबारी बनाइएको छ । 

फूलबारी निर्माण गरिएपछि उक्त क्षेत्र निकै सुन्दर देखिएको छ । स्थानीयवासीको अग्रसरतामा निर्माण गरिएको फूलबारीको संरक्षण पनि स्थानीयवासीले नै गर्ने गरेका छन् । स्थानीयवासीले आफ्नो घर अगाडि सडकको भागलाई फूलबारी तथा करेसाबारीका रुपमा विकास गरिरहेका छन् । उनीहरुले लगाएका फूलबारी तथा तरकारीबारीमा आफूले खनखोरसदेखि लिएर पानी हाल्ने काम गर्दैआएका छन् । 

तिलोत्तमा नगरपालिकाको सडक फूलबारीमा काम गर्दै आउनुभएका एकजना स्थानीयवासीले भने तिलोत्तमा नगरपालिकाले कुनै सहयोग नगरेको बताउनुभयो । नगरपालिकाले अन्य सहयोग गर्न नसके पनि बीउबिजन, मललगायतको सहयोगमात्रै गरिदिए पुग्ने उहाँको भनाइ छ । 

ग्रिनरी जोनमा निर्माण गरिएको फूलबारीलाई एकै प्रकारका फलामे पाइप र जालीले संरक्षण गरी आकर्षक बनाइएको छ । फूलबारीमा लगाइएका बिरुवाको संरक्षण र रेखदेखका लागि विभिन्न तीन स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएको बताइएको छ । 

छ लेन सडकलाई फूलबारीसहितको नेपालकै नमूना हरियाली सडक बनाउन रकम विनियोजन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले वडा नं १० र ११ अन्तर्गतको छ लेन सडक क्षेत्रलाई हरियाली बनाउन रु ३० लाख खर्च गरिने गरी बजेट विनियोजन गरिएको बताउनुभयो । 

आगामी चैत महिनाभित्र उपमहानगर क्षेत्रभित्र पर्ने छ लेन सडकको सबै किनारमा हरियाली र आकर्षक फूलबारी निर्माण हुने उहाँले बताउनुभयो । हरियाली प्रवद्र्धनका लागि आर्थिक व्यवस्थापन उपमहानगरपालिकाले गर्नेछ भने बिरुवाको सम्वद्र्धन र संरक्षणको जिम्मा स्थानीय समुदायले लिनुपर्नेछ । 

जनकल्याण टोल विकास संस्थाको अगुवाइमा रु छ लाखको लागतमा शहीद स्मारक पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष निर्मलप्रकाश रानाले जानकारी दिनुभयो । शहीद स्मारक पार्क निर्माणमा रु छ लाख खर्च गरिएको छ । छेउमा रहेको कालिका हरियाली फूलबारी निर्माणमा पनि रु चार लाख लगानी भएको छ । 

कालिका चोक टोल समितिकी अध्यक्ष शकुन्तला पुनले हाललाई कालिका हरियाली फूलबारीमा १५० वटा बिरुवा लगाइएको जानकारी दिनुभयो । ठूला बिरुवाको बीचमा सयपत्री, गोदावरी, डालियालगायत मौसमी फूलका बिरुवा लगाएर यसलाई हरियाली बनाउने योजना छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!