राससलाई प्रादेशिक ढाँचामा लैजान सकिन्छ: मुख्यमन्त्री

Posted on: 13 Aug, 2018

साउन २८, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ । 

बुटवलमा मुख्यमन्त्री पोखरेलसँग आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उहाँले प्रादेशिक बुलेटिन प्रकाशनको अवधारणा प्रशंसनीय भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “प्रदेशको आफ्नो मिडिया छैन त्यसैले प्रादेशिक मिडिया इन्ष्टिच्युट खडा गर्न पनि सकिन्छ ।” उहाँले राससले समाचारको पनि स्रोत हुने क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै बाध्यताले होइन स्वभाविक तवरले राससको अपनत्व महसुस हुन सक्नुपर्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले राससले सङ्घीय र प्रदेशसभा तथा स्थानीय तहका सबै सूचना सम्प्रेषणको जिम्मेवारी लिन सक्ने बताउँदै प्रादेशिक मनोविज्ञानलाई आत्मसात् गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

राससका अध्यक्ष श्यामलले राससको कानूनी र संरचनागत रुपान्तरण गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका विषयलाई जनताको अपेक्षाअनुसार गुणस्तरीय र विश्वसनीय समाचार सम्प्रेषण गर्ने कार्यलाई तीव्रता दिइएको बताउनुभयो । 

उहाँले राससको प्रादेशिक संरचनाको विकासको लागि प्रदेश सरकारबाट विशेष ध्यान जाने अपेक्षा गर्नुभयो । राससले प्रदेशका सबै सञ्चारमाध्यमका लागि मूल समाचार स्रोतको काम गर्ने तथा मिडिया परिचालनको नेतृत्व गर्न सक्ने भएकाले यस संस्थाप्रति प्रदेशले अपनत्वको भाव दर्शाउनुपर्ने अध्यक्ष श्यामलले बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई अध्यक्ष श्यामलले राससको प्रदेश सेवा र समाचारको प्रभावकारिता सहितको प्रस्ताव हस्तान्तरण गर्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!