थ्रेसर लगाउँदा वातावरण प्रदूषित

Posted on: 03 Nov, 2018

कात्तिक १७, बुटवल | रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ । 

धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका स्थानमा कृषकले काटेको धान खेतमा नै थ्रेसर लगाउँदा निस्केको धूलोले मानव स्वास्थ्यमा प्रतिकूल असर परेकोछ । 

वरिष्ठ फिजिसियन डा नन्दु पाठक थ्रेसरबाट निस्केको धूलोले ‘ब्रोडकाइटिस’, निमोनिया लगायतको स्वास्थ्य समस्या देखा पर्नसक्ने र खासगरी दमका बिरामीलाई धेरै अप्ठेरो हुनसक्छ भन्नुहुन्छ । 

उहाँले धूलोको कणसहितले मानिसलाई श्वाशप्रश्वासमासमेत असहज हुने जानकारी दिँदै त्यस्तो धूलोबाट बच्न आग्रह गर्नुभयो । काटेको धानमा थ्रेसर लगाएर धानको फल निकालिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर भन्दा सानो भन्ने मापन विन्दु तय गरेको छ । हावामा साना कणको सङ्ख्या जति धेरै भयो उति यसका गुणस्तर कम ठानिन्छ । साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छ । 

हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ । त्यस अनुसार दुई दशमलव ५ पिएमभन्दा साना कर्णलाई खतरनाक मानिएको छ । 

हावामा रहने विभिन्न हानिकारक वस्तुले घाँटी चिलाएजस्तो हुने, खसखस हुने, औषधि खाँदा कम भएजस्तो हुने तर ठीक नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता स्वास्थ्य समस्या धूलोका कारण निम्तिएको चिकित्सकले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!