एक परिवार एक रोजगार

Posted on: 24 Jan, 2019

माघ १०, बुटवल | बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार÷स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो । 

इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । नगर प्रमुख सुवेदीले शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना र स्वागतयोग्य कार्यक्रम मानिएको बताउनुभएको छ । 

सीप विकास तालीम केन्द्रमार्फत युवालाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत, प्लम्बिङ र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालीम लिएका ८०, एसी तथा रेफ्रिजेरेटर मर्मत तालीम लिएका ४६, प्लम्बिङ तालीम लिएका १२ र फेशन डिजाइन तालीम लिएका ९४ लाई सीप सिकेको प्रमाणपत्र प्रदान गरिएको छ । 

उपमहानगरपालिकाले शुरु गरेको यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले सहकार्य गरेका छन् । तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइएको र कम्तीमा तीन महीना तालीम दिइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । 

सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादातासँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । विभिन्न विषयमा तालीम लिएका प्रशिक्षार्थीमध्येका एसी बनाउने तालीम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभुवन कँडेलले तालीमले आत्मविश्वास र हौसला दुवै बढाएको बताउनुभयो । उहाँले आधारभूत तालीम लिएकालाई अर्को ‘एड्भान्स’ तालीमको व्यवस्था गर्न जरुरी रहेकोसमेत बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!