रुपन्देहीको सैनामैनामा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

Posted on: 22 Jul, 2019

साउन ६, रुपन्देही (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।  

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर (आइसिटी सामग्री) नगरप्रमुख चित्रबहादुर कार्कीले वितरण गर्नुभएको हो । नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि भन्दै आइसिटी सामग्री प्रदान गरिएको नगर प्रमुख  कार्कीले जानकारी दिनुभयो ।

प्रमुख कार्कीले आइसिटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रहसमेत गर्नुभयो । उपप्रमुख बीना राना, काङ्ग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेतनारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याललगायतले  नगरपालिकाले राम्रो कामको थालनी गरेको विचार व्यक्त गर्नुभयो । 

गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा १०३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालीमसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्राध्यापक नेत्रलाल पुरीले बताउनुभयो । नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालीम लिइसकेका छन् भने विद्यार्थीलाई उपकरणबाटै पढाउन शुरु गरेका छन् । 

नि:शुल्क विद्युत् मिटर वितरण 

सैनामैना नगरपालिकाले नगरपालिकाका विपन्न १४७ परिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको छ । ११ वटा वडाबाट विपन्न परिवारका सदस्यलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको हो । नगर प्रमुख चित्रबहादुर कार्की र नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विपन्न समुदायका व्यक्तिलाई निःशुल्क मिटर हस्तान्तरण गर्नुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!