गुडिरहेको बसमा ढुङ्गा खस्यो

Posted on: 28 Sep, 2019

असोज ११, रुपन्देही | सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । 

आज दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुङ्गा खसेको थियो ।

ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका राउतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिनुभयो ।

पौडी खेल्दा डुबेर बालकको मृत्यु

बुटवलको बेलबासमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास निवासी ११ वर्षीय सबिन आचार्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आज दिउँसो घर नजिकैको जवई खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!