बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार

Posted on: 20 Sep, 2021

असोज ४, बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई  एक युवाले पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् । 


गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।

आक्रमण गर्नेको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् । आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!