बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रक्रियामा स्थानिय सरकार

Posted on: 14 Jul, 2018

शंकर के सी/असार ३०, सल्यान। बाल बचाउ, बाल संरक्षण तथा बाल विकास र निर्णय प्रक्रियामा उनीहरुको सहभागीता जस्ता सवाललाइ सल्यानको कपुरकोट गाउँपालिकाले व्यवहारमै लागू गर्ने भएको छ । 


बालबालिकाहरु बाल श्रमिकका रुपमा होटल तथा ब्यक्तिको घरमा श्रमिक हुनु पर्ने,  दुर्गम तथा विपन्न, सीमान्तकीकृत समूदायका बालबालिकाहरु शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा बस्नु पर्ने तथा बिद्यालय गएकै बालबालिकाहरु पनि कक्षा छाड्ने समस्या विद्यमान रहेकाले यसलाइ न्युनिकरण गर्न स्थानीय सरकार प्रतिवद्ध भएर लाग्ने भएको हो ।


दुई दिन सम्म चलेको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरणको समापन अवसरमा बोल्दै कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउँपालिका बालबालिकाको हक हित संरक्षणमा अझै कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

तरकारि खेती व्यापक रुपमा हुने यस क्षेत्रका बालबालिका भारि बोक्नुपर्ने, आमाबाउ संगै इटाभट्टामा गएर काम गर्नुपर्ने जस्ता समस्याबाट गुज्रीरहेकाले यस्ता बालवालिकाको संरक्षणमा योजना बनाएर गाउँपालिका अगाडी बढ्ने बताए ।

उनले भने, ‘अव हामीले हाम्रो गाउँपालिकामका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रक्रियामा छौँ । जसका लागी आवश्यक बजेट विनियोजन भइसकेको छ ।’ अहिले बालमैत्री स्थानीय शासनको अवधारणाको अभिमुखिकरण चलाइरहेको गाउँपालिकाले यो शासनको प्रवद्र्धन गर्न समिती गठन, नीती निर्माण र बालबालिकाको वस्तुगत विवरण संकलन गर्ने तथा बाल क्लवहरु गठन, विकास र परिचालन गरिने अध्यक्ष सेनले प्रतिवद्धता जनाए ।

भौतिक पूर्वाधारको विकासले मात्रै समृद्धि हाँसिल गर्न नसकिने भएकाले अभिमुखिकरणमा सहभागी वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरुलाइ गाउँपालिका अध्यक्ष सेनले बालबालिकामा पनि पर्याप्त लगानी गर्न आग्रह गरे । तालिममा कपुरकोट गाउँपालिकाभित्र रहेका सबै माध्यामिक विद्यालयबाट दुई जना छात्र, दुई जना छात्रा तथा जनप्रतिनिधीहरुको सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!