सल्यानको त्रिवेणीमा एक घर पाँच आयमुलक विरुवा रोप्ने देखि नगर प्रहरी राख्नेसम्मको कार्यक्रम प्रस्तुत

Posted on: 23 Jun, 2018

शंकर के सी | असार ९, सल्यान | त्रिवेणी गाउँपालिका सल्यानको निती तथा कार्यक्रममा एक घर पाँच आयमुलक विरुवा रोप्नेदेखि एक वडा एक होमस्टे कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । यस्तै नगर प्रहरी व्यवस्था गर्ने देखि जनताको प्रश्न जनप्रतिनिधीको जवाफ कार्यक्रम सञ्चालन गर्ने कुरा निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाको आन्तरिक शान्ति सुरक्षा,अवरोध हटाउने,उद्धार कार्य,बजार व्यवस्थापन जस्ता कार्यलाई व्यवस्थित गर्नको लागि नगर प्रहरीको व्यवस्था  गर्न आवश्यकता देखिएकोले नगर प्रहरी गठन संचालन सम्बन्धी कार्यविधि बनाई आवश्यक प्रक्रिया अडागी बढाइने छ ।

गाउँपालिकाले २८ करोड ८८ लाख बढिको बजेट प्रस्तुत गरेको छ । आर्थीक वर्ष २०७५।०७६ को निती, कार्यक्रम र बजेट त्रिवेणी गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष करुणा खड्काले २८ करोड ८८ लाख १६ हजार एक सय ७७ रुपैयाँ बराबरको बजेट निनियोजन गरिएको जानकारि गराइन् । गाउँपालिकाका अध्यक्ष मान बहादुर डागीको अध्यक्षतामा भएको वर्षे सभामा उपाध्यक्ष खड्काले कुल विनियोजन मध्य चालु तर्फ सशर्त समेत ३ करोड १४ लाख ३१ हजार ४५२ र र पूजिगत तर्फ जम्मा रु.२५ करोड ७३ लाख   ८४ हजार ७१८ विनियोजन गरेको जानकारि गराइन् ।

यस्तै स्वयमसेविकाको प्रोत्साहनका लागी हरेक महिना ६ सय रुपैयाँ भत्ता र गर्भवती र सुत्केरि महिलालाइ आयो नुन, सुत्केरि भत्ता तथा न्यानो झोला वितरण कार्यक्रमलाइ निरतरता दिइने उल्लेख गरिएको छ ।

स्वास्थय शिविर सञ्चालनका लागी ६ लाख, वृद्धाश्रमका निर्माण गर्न १५ लाख, व्याडमिन्टन कार्ड निर्माण गर्न ५ लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डागीले जानकारि दिए । यस्तै गाउँपालिकाका महत्वपूर्ण मोटरबाटोका लागी १ करोड ४० लाख, ग्रामिण विद्युतीकरणका लागी १ करोड विनियोजन गरिएको छ भने ५ लाख भन्दा माथिका सबै आयोजनाहरु  निर्माण व्यवसायीबाट काम गराउने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ ।

“हराभरा र सुन्दर त्रिवेणी गाउँपालिका, विकसित र सम्बृद्ध समाज निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मूल नारालाई साकार पार्न त्रिवेणी गाउँपालिकाको उपलब्ध साधन स्रोतलाई उत्पादनमूलक र छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक र प्रभावकारी तरिकाबाट खर्च गर्दै दीगो विकासको माध्यमबाट विकसित समाज निर्माण गर्नु आफुहरुको मुल निती रहेको गाउँपालिकाका अध्यक्ष मान बहादुर डागीले बताए ।


यस्तो छ त्रिवेणि गाउँपालिका सल्यानको गाउँसभामा उपाध्यक्ष करुणा खड्काले प्रस्तुत गरेको निती, कार्यक्रम र बजेट

सभाध्यक्ष महोदय,

अव म आगामी वर्षको बजेटका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ः

१. मूल नीति:

“हराभरा र सुन्दर त्रिवेणी गाउँपालिका, विकसित र सम्बृद्ध समाज निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मूल नारालाई साकार पार्न त्रिवेणी गाउँपालिकाको उपलब्ध साधन स्रोतलाई उत्पादनमूलक र छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक र प्रभावकारी तरिकाबाट खर्च गर्दै दीगो विकासको माध्यमबाट विकसित समाज निर्माण गर्नु हाम्रो मूल नीतिरहेकोछ । यस मूल नीतिलाई पछ्याउदै देहायका क्षेत्रगत नीतिहरु तय गरिएकोछ ।

(क) आर्थिक विकास:

  • भौगोलिक क्षेत्र अनुसार पकेट क्षेत्रको निर्धारण गर्दै कृषि तथा पशु क्षेत्रको व्यवसायिकरण गर्न “ हाम्रो त्रिवेणीको कृषि पशु व्यवसाय हाम्रो गौरव ” भन्ने मूलमन्त्रमानी कार्यक्रम संचान गरिनेछ , यसको लागि कृषि तथा पशुविकासको लागि अध्ययन,विश्लेशन,योजना निर्माण गर्ने व्यवस्था गरिनेछ,
  • “प्रदेशको एक फर्म एक अनुदान” भन्ने नीतिलाई थोरै परिमार्जन गर्दै “सक्षम फर्म एक अनुदान” नीति अवलम्बन गरिनेछ
  • पकेट क्षेत्रमा समूह निर्माण गरी किसानको लागत सहभागितामा कम्तिमा “एक घर ५ आयमूलक विरुवा रोप्ने कार्यक्रम” संचालन गरिनेछ । यी माथिका कार्यको लागि आवश्यक बजेट विनियोजन गर्कोछु,
  • पर्यटन क्षेत्रको विकास गरी आन्तरिक पर्यटन प्रबद्र्धनको माध्यमबाट गाउँपालिकाको आयबृद्धि गर्न त्रिवेणी गाउँपालिकाकमो पिमखोला नजिको छहरालाई व्यवस्थित गर्न पर्यटन योजना निर्माण गरी उक्त एरियालाई उद्यानको रुपमा समेत विकास गर्ने, समग्र पर्यटन प्रबद्र्धन कार्यको लागि रु. ६ लाख बजेट विनियोजन गरेकोछु ।
  • पर्यटन क्षेत्रकालाई पनि विकासको आधार बनाउन “एक वार्ड एक होमस्टे ” निर्माण गर्न प्रोत्साहन गरी प्रत्येक ३ महिनामा एकपटक “त्रिवेणी गाउँपालिका होमस्टे”कार्यक्रम संचालन गरिनेछ,
  • ससाना लघु तथा घरेलु उद्यगहरुको विकास गरी जनताको आयस्तरमा बृद्धि ल्याउने,यसको लागि आवश्यक प्रविधि हस्तान्तरण गर्ने बजेटको व्यवस्था गरेकोछु ।
  • सहकारी क्षेत्रको विकास र विविधिकरण गर्दै विषेश गरी कृषि क्षेत्रसंग सम्बन्धित सहकारीको विकास र प्रबद्र्धनको माध्यमबाट जनतालाई व्यवसायिक बनाउने साथै जनताको लगानीलाई सुरक्षित गर्ने नीति लिइने, सहकारीलाई सक्षम बनाउन सहकारी शिक्षा,बजार सहजीकरणको व्यवस्थाको लागि आवश्यक व्यवस्था गरेकोछु ।

(ख) सामाजिक विकास:

  • स्वास्थ्य क्षेत्रका घरोहरका रुपमा रहेका महिला स्वयंसेविकाहरुको सेवालाई सम्मान गर्दै उहाँहरुको काम प्रति अझ उत्साह प्रहान गर्न स्वयंसेविका प्रोत्साहान कार्यक्रमलाई निरन्तरता दिइने, यसकोलागि प्रति महिना प्रति जना रु.६०० का दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेकोछु ।
  • बालमृत्युदर तथा मातृमृत्युदर कम गर्न तथा कुपोषणबाट गर्भवती महिला र बच्चालाई बचाउन सुत्केरी जाँच गराउन आउने महिलाई आयो नून,सुत्केरी भत्ता तथा बच्चालाई न्यानो झोला दिइने गत वर्षको नीतिलाई निरन्तरता दिइनेछ ।
  • जनतालाई स्वास्थ्य सम्बन्धी विभिन्न सेवा घर नजिकबाट उपलब्ध गराउन विभिन्न विषयका (रोगसंग सम्बन्धित) स्वास्थ्य शिविरहरु संचालन गरिनेछ,यसको लागि रु.६ लाख बजेट विनियोजन गरिएकोछ ।
  • जनतालाई स्वस्थ खानेपानी सेवा उपलब्ध गराउन उनिहरुकै सहभागितामा नयाँ योजनाहरु निर्माण,पुराना योजनाहरुको मर्मत सुधार गर्नुकमा साथै खानेपानी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम संचालन गरीनेछ , यसको लागि प्रयाप्त बजेटको व्यवस्था गरेकोछु ।
  • असाहय जेष्ठ नागरिहरुको सम्मान र उचित संक्षणको लागि बृद्धाश्रम निर्माण गरी व्यवस्थित गरीनेछ, सहयोगी मनहरुबाट जग्गाको व्यवस्था गरी भवन निर्माण गर्न रु.१५ लाख बजेट व्यवस्था गरेकोछु ।
  • अपांगता भएका व्यक्तिहरुको “अपांग हाम्रा साथी” कार्यक्रम संचालन गरी तीनीहरुको लागि वर्ग अनुसारको कार्यक्रम ल्याइनेछ, यसको लागि उचित बजेटको व्यवस्था गरिएकोछ ।
  • बालमैत्री स्थानीय शासन संचालनको लागि आवश्यक कार्यक्रम ल्याइनेछ,
  • भाषा सस्कृति संरक्षणको लागि जोड दिइनेछ, यसको लागि उचित बजेटको व्यवस्था गरिएकोछ ।
  • शिक्षामा गुणस्तरीयता तथा सर्वसाधारणको भरोसायोग्य बनाउन विषेश योजना संचालन गरिनेछ,
  • “ खेलकुदको विकास स्वस्थ जीवनको आधार ” भन्ने मूलमन्त्र तय गरी खेलकुदको विकासमा ध्यान दिइनेछ, विद्यालयमा हप्ताको एक दिन खेलकुद कार्यक्रम संचालन गरिने व्यवस्था मिलाइनेछ,
  • त्रिवेणी गाउँपालिकामा व्याडमिन्टन खेलको विकास गरी गाउँपालिकाको पहिचान स्थापित गरिनेछ, यी कार्यक्रमको लागि प्रयाप्त बजेटको व्यवस्था गरेकोछु ।
  • “ खेलकुदको विकास स्वस्थ जीवनको आधार ” भन्ने नारालाई साकार पार्न गाउँपालिकालाई  खेलकुद मैत्री बनाउने नीति लिइने र त्यसको लागि “ एक गाउँपालिका एक रंगशाला”स्थापना गरिने, साथै गाउँपालिकाको मुख्य कार्यालय रहेको स्थानमा एक इन्डोर व्याडमिन्टन कोर्ट स्थापना गर्ने नीति लिइनेछ, यसको लागि रु.५ लाख बजेट विनियोन  गरेकोछु ।
  • सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न प्रथम चरणमा मा.वि.हरुमा विद्युतिय हाजिर मेसिन,सिसिक्यामेरा जस्ता विद्युतिय उपकरणको जडान गरिने व्यवस्था गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजना गरिएकोछ ।
  • कार्यसम्पादन सम्झौताको आधारमा शिक्षको मूल्याकन गर्ने परिपाटिको विकास गरी दण्ड र पुरस्कारको नीति अवलम्बन गरिनेछ ।

(ग) पूर्वाधार विकास:

  • गुरुयोजना अनुसार बाटो नपुगेको बस्तिमा बाटो पुराउने व्यवस्था गरिनेछ साथै भएका वाटाहरुको स्तरोन्नती गरिदै लगिनेछ र अनावश्यक स्थानमा बाटो काट्ने कामलाई निरुतसाहित गर्दै लगिनेछ,
  • गाउँपालिकाका महत्वपूर्ण मोटरबाटाहरुलाई गाउँपालिकाका गौरवका योजनाको रुपमा लिई अगाडि बढाइनेछ, यसका लागि १ करोड ४० लाख बजेट विनियोजन गरीएकोछ ।
  • खेती योग्य जमिनमा सिचाँईका विभिन्न माध्यम अपनाउदै जनताको लागत सहभागितामा पानीको श्रोतको आधारमा भरपुर सिचाँई हुने व्यवस्था गरिनेछ, यसमा आवश्यक बजेटको व्यवस्था गरिएकोछ ।
  • व्यवस्थित वस्ति विकास तथा सुरक्षित भवन निर्माण गर्नको लागि भवन निर्माण मापदण्ड बनाई लागु गरिनेछ,
  • त्रिवेणी गाउँपालिकालाई विद्युत र संचार सुविधायुक्त बनाउन विभिन्न कार्यक्रमहरु संचालनमा ल्याइनेछन,ग्रामिन विद्युतिकरणको लागि १ करोड बजेट व्यवस्था गरीएकोछ ।
  • स्थानीय भौतिक पूर्वाधार निर्माणमा स्थानीय सहभागिता हुनछाडेको र उपभोक्ता समितिबाट काम गराउदा वित्तिय जोखिमको स्तर समेत बढेको अनुभवबाट देखिएकोले ५ लाख भन्दा माथिका सबै आयोजनाहरु  निर्माण व्यवसायीबाट काम गराउने नीति अवलम्बन गरिनेछ ।
  • भौतिक संरचनाको मर्मत संभारको लागि मर्मत संभारकोषको व्यवस्था गरी संचालनमा ल्याइनेछ,

(घ) वन वातावरण तथा विपत व्यवस्थापन:

  • औषधिजन्य तथा उत्पादनमूलक बोट विरुवाहरुको विकास र संरक्षण गर्दै वनलाई  विकासको आधारको रुपमा विकास गर्न “हाम्रो वन हाम्रो विकास” कार्यक्रम संचालन गरिनेछ । यसमा वनको विकास गर्दै त्यसबबाट भएको आम्दानीले ससाना स्थानीय पूर्वाधारमा लगानी गर्ने नीति लिइनेछ,यसको लागि सामुदायिक वनसंगको लागत सहभागिताको व्यवस्था गरिनेछ ।
  • जलाधार संरक्षण,जलवायु परिवर्तण सम्बन्धमा विषेश कार्यक्रम ल्याइनेछ,यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएकोछ ।
  • त्रिवेणी गाउँपालिकालाई स्वस्थ र सफा राख्न “जसले फोहर गर्छ उसले सफा गर्छ” भन्ने नीति ल्याइनेछ,
  • विभिन्न प्रकोपहरुबाट नागरिकहरुलाई बचाउन तथा तीनको व्यवस्थापन गर्न विपत व्यवस्थापन नीति तथा योजना बनाइ । यसको लागि विपत व्यवस्थापन कोष स्थापना गर्ने व्यवस्था गरेकोछु ।
  • वातावरण संरक्षण गर्न पुराना पोखरीहरुलाई संरक्षण,मर्मत र संभार गर्ने कार्यलाई निरन्तरता दिइनेछ साथै आवश्यक ठाउँहरुमा नयाँ पोखरीहरुको निर्माण कार्यलाई प्राथमिकतामा राखिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।

(ङ) सुशासन तथा संस्थागत विकास

  • कार्यालयको संस्थागत क्षमता विकास गर्न आवश्यक कार्यक्रम बनाई लागु गरिनेछ ,यसको लागि आवश्यक बजेटको व्यवस्था गरेकोछु ।
  • परदर्सिता तथा वित्तिय जोखिम न्यूनिकरण गर्नको लागि विद्युतिय हाजिर मेसिनको व्यवस्था,सार्वजनिक परिक्षण,सार्वजनिक सुनुवाई र सामाजिक परीषण जस्ता सुशासनका औजारहरुको प्रवन्ध गर्ने कार्यक्रमहरु संचालन गर्ने व्यवस्था गरिनेछ ,यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएकोछ ।
  • सार्वजनिक वित्तिय जोखिम न्यूनिकरण गर्न स्थानीय स्तरमा उपभोक्ता समितिहरुबाट संचालन गरिने कार्यक्रम तथा निर्मान कार्यमा पेश्की नदिने नीतिलाई निरन्तरता दिइनेछ,
  • गाउँपालिकाबाट सम्पादनहुने हुने क्रियाकलापहरुका बारेमा जनतालाई सुसूचित गर्न “त्रिवेणी गाउपाकिाको जनताको प्रश्न जनप्रतिनिधिको जवार्फ”  कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइनेछ,
  • विकास निर्माण कार्यलाई पारदर्सी र व्यवस्थित बनाउन तथा उपभोक्ता समितिहरुलाई थप जिम्मेवारी बनाउन क्षमता विकासका कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइनेछ, यसको लागि उचित बजेट व्यवस्था गरेकोछु
  • गाउँपालिकाको आन्तरिक शान्ति सुरक्षा,अवरोध हटाउने,उद्धार कार्य,बजार व्यवस्थापन जस्ता कार्यलाई व्यवस्थित गर्नको लागि नगर प्रहरीको व्यवस्था  गर्न आवश्यकता देखिएकोले नगर प्रहरी गठन संचालन सम्बन्धी कार्यविधि बनाई आवश्यक प्रक्रिया अडागी बढाइनेछ ।
  • गाउँपालिकाको समग्र विकासको लागि संभावनाका नयाँ नयाँ क्षेत्रमा अध्ययन तथा विश्लेशन गरिनेछ,
  • गाउँपालिकाको समग्र विकासको लागि गाउँपालिकाको एकिकृत विकास योजना निर्माण गरिनेछ,यसको लागि रु.१७ लाख बजेट व्यवस्था गरेकोछु ।
  • गाउँपालिकाबाट संचालन हुने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन नागरिक सचेतनाका टुल्सहरुको विकास र प्रयोग गरिनेछ,कर्मचारीको क्षमता विकास गर्न विभिन्न क्रियाकलाप संचालन गर्ने व्यवस्था गरिनेछ,यसमा आवश्यक बजेट व्यवस्था गरिएकोछ ।
  • संस्थागत विकासको लागि विभिन्न सफ्टवयर जडान,विभिन्न कानून तथा दस्तावेज निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ,यसका लागि रु.९ लाख बजेट व्यवस्था गरेकोछु ।
  • करारका कर्मचारीहरुलाई तीनिहरुको कार्य सम्पादन,बजेटको अवस्था तथा कार्यालयको आवश्यकतालाई ध्यानमा राखी आवश्यक व्यवस्था गर्ने नीति लिइनेछ ।

सभाध्यक्ष महोदय,

अव म आगामी आर्थिकवर्ष २०७५।७६ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहान्छु:

(क) करका नयाँ नयाँ क्षेत्र पहिचान गर्ने तथा करका दरहरुको विविधिकरण गर्दै गाउँपालिकालाई आन्तरिक आयमा आत्मनिर्भर बनाउदै लगिने नीतिका अवलम्बन गरिनेछ ।

(ख) माथि उल्लेखित नीति अनुसार राजश्व परिचालनको उद्देश्य देहाय बमोजिम प्रस्तुत गरेकोछु ः

  • सवै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउने,
  • खर्चमा मितव्ययीता अपनाउदै राजश्व परिचालनलाई लगानीमत्रै बनाउने,
  • सकेसम्म करदातामैत्री राजश्व प्रशासनको विकास गर्ने,
  • करका संरचना र करका दरहरुमा समय सापेक्ष बनाई कर प्रणालीमा सुधार गर्दै जाने,
  • कर कानूनको पालनामा जोड दिदै कर चुहावट र कर छली कार्यलाई नियन्त्रण गर्ने,
  • कर प्रशासनलाई चुस्त छरितो र लागत प्रभावी बनाउने, प्रदेशसंगको समन्वयमा कर असुलि कार्यलाई प्रभावकारी बनाउने, 

(ग) आगावी आ.व.मा यस गाउँपालिकामा लगाउने कर तथा शूल्क दस्तुरहरुको विवरण आर्थिक ऐनका अनुसूचिहरुमा उल्लेख गरेकोछु ।

अध्यक्ष महोदय,

अव म माथिका क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुथ गर्दछु:

(घ) आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु.२८ करोड ८८ लाख १६ हजार १७० बजेट विनियोजन गरेकोछु । कुल विनियोजन मध्य चालु तर्फ (सशर्त समेत)जम्मा रु.३ करोड १४ लाख ३१ हजार ४५२ र पूजिगत तर्फ जम्मा रु.२५ करोड ७३ लाख   ८४ हजार ७१८ विनियोजन गरेकोछु ।

(ङ) आगामि वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजश्वबाट रु.३५ लाख, चालु आ.व.मा खर्च नभई बाँकी रहनजाने अनुमानित रकम रु. ७० लाख, संघिय तथा प्रदेश सरकारबाट प्राप्त वितिय सामानीकरण अनुदान र राजश्व वाँडफाँडबा प्राप्त हुन आएको रु. ७ करोड, ३६ लाख, ६ हजार र विभिन्न सशर्त अनुदानबाट प्राप्त भएको रु.१५ करोड २८ लाख २९ हजार १७० परिचालन गरिएकोछ । बाकी अपुग हिसाव सामाजिक सुरक्षा भत्ता, एलजिसिडिपि, संघ तथा प्रदेश सरकारबाट आउन सक्ने समपुरक र विषेश अनुदा तथा विभिन्न संघ संस्थाले पेश गरेका कार्यक्रमबाट पेश गरेको बजेटबाट मिलान हुने अनुमान गरेकोछु ।

अध्यक्ष महोदय,

अन्तमा, बजेट तयारीका क्रममा निर्देशन गर्नुहुने अध्यक्षज्यू,वडा अध्यक्षज्यूहरु,कार्यापालिका सदस्य तथा वडा सदस्यज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । बजेट छलफलका क्रममा सक्रिय सहयोग गर्नुहुने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारी साथीहरु तथा बजेट निर्माणमा अमूल्य सुझाव सल्लाह दिनुहुने पूर्व जनप्रतिनिधिज्यहरु, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिज्यूहरु,नागरिक समाजका अगुवा,बुद्धिजीवि वर्ग लगायत बजेट तथा कार्यक्रम प्रति सदभाव राख्नुहुने  सबैहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै प्रस्तुत बजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरेकोछु । जय त्रिवेणी गाउँपालिका ।

धन्यवाद, 

प्रस्तुत गर्ने:

श्री करुण खड्का, 

उपाध्यक्ष, गाउँपालिका, सल्यान 

यस बिषयमा तपाइको प्रतिक्रिया...!