सल्यानमा उपभोक्ता समितिमा बस्न लालपुर्जा चाहिने

Posted on: 28 Jan, 2018

माघ १४, सल्यान | सल्यानमा विकास निर्माणमा गठन हुने उपभोक्ता समितीमा बस्दा समेत लालपूर्जा चाहिने भएको छ । सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुने लालपुर्जा जिल्लाको कालिमाटी गाउँपालिकामा उपभोक्ता समितीको सदस्य बस्दा समेत चाहिने भएको हो । चालु आर्थीक वर्षमा लागू हुने गरेर नै कालिमाटी गाउँपालिकाको एक नम्बर वडाले यस्तो निर्णय गरेको हो । र यो नियमलाइ गाउँपालिकाभर नै लागु गरिने कालिमाटीका प्रमुख प्रशाशकीय अधिकृत हरि बहादुर खत्रीले बताए ।

‘जनतासंग जनप्रतिनिधी रेडियो वहस’ कार्यक्रममा वडा नम्बर एकका अध्यक्ष रविलाल वस्नेतले उपभोक्ताहरुलाई थप जिम्मेवार बनाई समयमै दिगो, गुणस्तरीय र प्रभावकारी रुपमा योजना निर्माण गरी सुशासनमा समेत प्रवद्र्धन गर्न जमानीको रुपमा उपभोक्ता समितिका पदाधिकारीहरुको लालपुर्जा राखीने निर्णय आफ्नो वडापालिकाले गरेको जानकारि दिएका थिए । उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने ब्यवस्था राम्रो भएको भन्दै अव गाउँपालिकाको सबै वडाहरुमा पनि यो व्यवस्था लागु गरिने प्रमुख प्रशाशकीय अधिकृत खत्रीले बताएका हुन् ।

विगतमा उपभोक्ता समितिमा बस्नका लागि तछाड मछाड गर्ने र दलिय भागबण्डाका आधारमा आउने भएकाले मनोमानी रुपमा काम गर्ने देखीएकोले एक नम्बर वडाले पाँच लाख भन्दा माथीको योजनामा उपभोक्ता समितीमा बस्ने सदस्यहरुलाइ लालपुर्जा राख्ने प्रवधान गराएको हो ।  राजनितिक आडमै उपभोक्ता समितिका पदाधिकारीहरुले डिजाईन अनुसार कामै नगर्ने, अटेर गर्ने, गुणस्तरीय काम नगर्ने लगायत समस्या देखीएकाले लालपुर्जा धितोको रुपमा राखेमा कामप्रति जिम्मेवार हुने र प्रभावकारी हुने जनाईएको छ ।

‘विगतमा उपभोक्ता समितिका पदाधिकारीहरु कामप्रति जिम्मेवार नभएको पाईएकाले यो अनिवार्य रुपमा लालपुर्जाको ब्यवस्था उपयुक्त देखिएको छ, प्रशासकीय अधिकृत खत्रीले भने, ‘तोके बमोजिम काम पुरा नभए लालपुर्जा फिर्ता हुने छैन् ।’ जिल्लाको कतीपय स्थानमा पैसा कमाउने लोभमा गुणस्तरहिन काम गरेर समितिका पदाधिकारीले ठेक्का दिने प्रचलन पनि रहेको छ ।

यसैविच कालिमाटी गाउँपालिकाले एक नम्बर वडालाइ बेसारमा आत्मनिर्भर बनाउने भएको छ । लक्ष्मीपुर क्षेत्रमा बेसार साम्रो उत्पादन हुने भएकाले किसानहरुलाइ आवश्यक सहयोग गरि बेसार उत्पादन बढाउने गाउँपालिकाको योजना छ । रेडियो कपुरकोट सल्यानले आयोजना गरेको ‘जनतासंग जनप्रतिनिधी रेडियो वहस’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खत्री, वडा अध्यक्ष वस्नेत लगाएतकाले एक नम्बर वडालाइ बेसारमा आत्मनिर्भर बनाउनका लागी किसानहरुलाइ खेती प्रविधिबारे तालिम दिने, अनुदानमा गुणस्तरिय विउ दिने र कृषि प्राविधिकहरुको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!