सल्यानमा दशैँ अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिदै

Posted on: 02 Oct, 2018

असोज १६, सल्यान । सल्यानमा स्थानीय तहहरुले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले भने सामाजिक सुरक्षा वापतको रकम सोमबार नै सम्बन्धीत वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा सैसा लिएर दशै मनाउने नागरिकको चाहना अधुरै रहने देखिएको छ ।

कपुरकोट गाउँपालीकाले यस आर्थीक वर्षको पहिलो चौमासिकका लागी सामाजिक सुरक्षा वापतको रकम ६२ लाख ३६ हजार ४ सय रुपैयाँ ६ वटै वडा कार्यालयहरुको खातामा जम्मा गरिसकेको लेखापाल बरुण डाँगीले जानकारि दिएका छन् । वडा कार्यालयको खातामा सामाजिक सुरक्षा वापतको रकम गइसकेकाले तुरुन्तै निकालेर घटस्थापना अघि नै नागरिकलाइ सरल तरिकाले वितरण गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा सचिवहरुलाइ निर्देशन गरेका छन् । अध्यक्ष सेनले भने, ‘जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै पाउन भनेर हामीले प्रक्रिया पुरा गरेर सम्बन्धीत वडामा रकम पठाइसकेका छौँ । वडा सचिवहरुलाइ छिट्टै रकम निकालेर वितरण गर्न निर्देशन दिन चाहन्छु ।’


यस्तै त्रिवेणी गाउँपालिकाले पनि दशै अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको जनाएको छ । यद्यपी त्रिवेणीले हाल सम्म पनि वडामा रकम पठाउन सकेको छैन । त्रिवेणी गाउँपालिकामा १३ सय बढिले सासु भत्ता पाउने गरेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले एक वर्षमा २ करोड बढि रकम वितरण हुने गरेको जनाए । उनले भने, ‘यस चौमासिकको सासु भत्ता दशैँ अघि वितरण गर्ने प्रयासमा हामी जुटीरहेका छौँ ।’

जिल्लाकै छत्रेश्वरी गाउँपालिकाले पनि दशैँ अघि भत्ता वितरण गर्न भ्याउने वा नभ्याउने अझै टुंगो छैन । सम्बन्धीत वडाबाट अद्यावधीक लगत आइनसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । उनले आफ्नो गाउापालिकामा एक वर्षमा २ करोड ५० लाख बढि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको जनाए ।

वडाहरुबाट अद्यावधीक लगत समयमै ल्याएर कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम निकासाका लागी माग गरेपछि कोलेनीकाले निकासा छाड्ने र त्यसपछि सम्बन्धीत गाउँ तथा नगरपालिकाले वडाहरुमा रकम पठाउनुपर्ने हुन्छ । तर यस प्रकारको प्रक्रिया पुरा गर्न कतीपय स्थानीय तहले ढिला गर्दा सासु भत्ता हात पारेर दशैँ मनाउने सिमान्तकृत वर्गका नागरिकको चाहना अपुरो हुने देखिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!