काठमाडौँबाट वन्यजन्तुको छालासहित दुई पक्राउ

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी रहेका छन् । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिनुभयो । 

वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित मित्रनगरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको थियो । बरामद गरिएको छाला चितुवा प्रजातिको जस्तो देखिए पनि यकिन नभएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!