कुभिण्डे, खैरावाङ र चाँदनी सातसते पर्यटनका काम शुरु

Posted on: 30 May, 2020

जेठ १७, सल्यान | सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रु दुई करोड खर्च गर्न गरिने भएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनका लागि रकम खर्च गर्न लागिएको हो । 

प्रमुख पर्यटकीय क्षेत्र कुभिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरीलगायत सम्पदामा पूर्वाधार विकास निर्माण शुरु गरिएको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले पूर्वाधार विकासको काम शुरु गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट वन कार्यालयमार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरु गरिएको हो । सोअनुसार चालु आवमा जिल्लाका ६  पर्यटकीय क्षेत्रमा रु दुई करोड बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजन वन अधिकृत रमेशकुमार गिरीले जानकारी दिनुभयो ।

वन कार्यालयले कुभिण्डे तालमा पूर्वाधार विकासका लागि रु ४० लाख, खैरावाङ मन्दिरमा रु ४० लाख, छत्रेश्वरी धामका लागि रु ३० लाख र  चाँदनी सातसते गुफामा रु २० लाख विनियोजन गरेको वन अधिकृत गिरीले जानकारी दिनुभयो । यस्तै लक्ष्मीपुर पर्यटन पूर्वाधारका  लागि रु २० लाख र सिद्धगुफा पर्यटन पूर्वाधारका लागि रु ५० लाख विनियोजन गरिएको गिरीको भनाइ छ  ।

“लकडाउनकै समयमा छत्रेश्वरी धाम, चाँदनी साततले गुफा र खैरावाङ मन्दिरमा पूर्वाधार विकासको लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ, बाँकी तीन ठाउँका कार्यालयले सर्भे गरी लागत अनुमान तयार पारेको र सम्झौता गरेर काम अगाडि बढाउने प्रक्रियामा रहेको छ ,”  गिरीले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!