ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

Posted on: 08 Feb, 2019

माघ २५, सङ्खुवासभा | भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । 

काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ । 

विसं २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधामात्रै उठाइएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । पुलको जमीनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ । 

लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि त्यसभेगका ७० हजार बढी नागरिकले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताउनुभयो  । शिलान्यास भएको आठ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनुमा सडक विभाग नै दोषी भएको उनको भनाइ छ । 

लम्सुवा घाटको पुल निर्माण नहँुदा जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नुपरेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल नहुँदा दैनिक उपभोग्य सामाग्रीमा महङ्गो शुल्क तिर्नु परेको छ ।’ यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । 

उहाँले स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको स्पष्ट पार्नुभयो । विसं २०६७ मा तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माणको आठ वर्ष बित्दा सात पिलर मात्र ठड्याइएको छ । तीन वषभित्र निर्माण सम्पन्न गर्नेगरी स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले काम छोडेर भागेको छ । 

लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । भोजपुर र सङ्खुवासभा आवतजावत गर्ने स्थानीयवासी हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षात्को समयमा अढाइ घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुलबाट वारपार गर्नुपरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!