करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 28 May, 2019

जेठ १४ खाँदबारी । सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उहाँ घाइते हुनुभएको थियो । खुम्बूलाई उपचारका लागि खाँदबारी ल्याउने क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । 

उहाँको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ । खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ ।  

त्यस्तै चीनको चङ्गा शहरको सडकमा काम गर्न जानुभएका सभापोखरी गाउँपालिकाका–१ का मनिष गिरी घाइते हुनुभएको छ । सडकमा ढलान गर्ने क्रममा त्यहाँ रहेको उपकरणले उहाँको  दाहिने हातको सबै आँैला काटिएको र उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!