टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on: 12 Feb, 2021

माघ ३०, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । 

खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो ।  ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् । मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उहाँकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मृतक राईका श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको  शिक्षक हित कार्कीले जानकारी दिनुभयो । अहिले स्थानीयले खाँदबारी किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्ध समेत पारेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!