सप्तरीको भेडिया बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

Posted on: 23 May, 2018

जेठ  ९ लहान | सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, सोही आगलागीमा परी स्थानीय हृदयनारायण चौधरीका पनि दुईवटा घर जलेर नष्ट भएका छन् । 

आगलागीबाट औषधि पसलमा भएका सम्पूर्ण सामान, केही नगद, घरमा भएको खाद्यान्न, फर्निचर र लत्ताकपडासमेत जलेर नष्ट हुँदा करीब रु ४० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

वारुणयन्त्र, प्रहरी र स्थानीयको अथक प्रयासमा बिहान ६ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागी के कारणले भएको भन्ने खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!