चैते धानको रोपाइँ प्रभावित

Posted on: 16 Mar, 2019

चैत्र २, राजविराज | सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ । 

किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा सिँचाइको अभावमा अहिले पम्पसेट, विद्युतीय मोटर र वैकल्पिक माध्यमबाट रोप्न बाध्य रहेको हनुमानगर कङ्कालनी नगरपालिका–२ का किसान लाल माझिले बताउनुभयो । 

कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले किसानलाई खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् । वैकल्पिक बालिका रुपमा मानिएको चैते धानको खेती गर्ने किसानलाई सरकारले समयमा सिँचाइको व्यवस्था गर्न नसकेकोले पनि बाध्य भएर अहिले पम्पसेट, विद्युतीय मोटर र वैकलपिक माध्यमबाट चैते धान रोप्न लागेको किसान माझीले बताउनुभयो । 

नहरमा पानी नआउँदा र अकासबाट समेत पानी नपर्दा सुख्खा खडेरीले चैते धान खेतीमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको बताइएको छ । 

उचित सिँचाइ व्यवस्था नहुँदा पानी तान्ने पम्पसेट, डिजेल तथा मट्टितेलबाट चल्ने उपकरणबाट महँगो शुल्क तिरेर खेतमा पानी दिनुपर्ने बाध्यता रहेको किसान बालेश्वर खड्गाले बताउनुभयो । 

तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताउनुभयो । यसैबीच २०७३ साउनमा आएको भिष्ण बाढीका कारण कोशी पम्प चन्द्र नहर टुटफुट भएकाले पानी छाडन समस्या हुने गरेको कोशी पम्प चन्द्र डिभिजन कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!