सीमाङ्कनसहित संशोधन भएमात्र निर्वाचन: अध्यक्ष ठाकुर

Posted on: 26 Mar, 2017

चैत १३, सप्तरी । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताउनुभएको छ । 

आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गर्नुभयो । 

अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प छैन् भन्नुभयो । 

संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ उहाँले भन्नुभयो । 

अध्यक्ष ठाकुरले नेकपा(एमाले)को मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!