माओबादी नेताले वितरण गरे जाडो पीडितलाई कम्बल

Posted on: 21 Jan, 2018

माघ ७, राजविराज | पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट पीडा खेपिरहेकालाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । 

तीन सातायताको शीतलहरले प्रभावित भएका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका बासिन्दालाई यादवले राहत वितरण गर्नुभयो । त्यहाँका अपाङ्ग, एकल महिला, दलित र विपन्न परिवार गरी १७५ परिवारलाई सो कम्बल बितरण गर्नुभएको हो । 

यसैगरी, आहतमा परेका विपन्न परिवारका लागि राहत वितरण गर्दै आएका धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले शनिबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटी टोलका दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । 

क्लवका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवका अनुसार उक्त टोलका दलित र विपन्न गरी ४५ परिवारलाई शीतलहरबाट जोगिन कम्बल वितरण गरिएको हो । 

फरार अभियुक्त पक्राउ 

यसैगरी जबर्जस्ती करणी उद्योग मुद्दामा फरार एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको बलान बिहुल गाउँपालिका–२ बस्ने ३३ वर्षीय दुर्गानन्द साह तेलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक वर्षअघि जिल्ला अदालत सप्तरीले जबर्जस्ती करणी उद्योग मुद्दामा अभिुयुक्त साहलाई १ वर्ष ६ महिना कैद गरेको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!