सप्तरीमा एकै परिवारका पाँच दृष्टिविहीनले सहयोग पाएनन्

Posted on: 29 Dec, 2016

पुस १४, राजविराज । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति बिचल्लीमा परेका छन् । 

एउटै परिवारका ५० वर्षीय शम्भु मण्डल, उनका ४५ वर्षीय भाइ शिवनारायण मण्डल र उहाँकी ४० वर्षीया श्रीमती गीतादेवी मण्डल, ४२ वर्षीया बहिनी जयकलादेवी मण्डल र एक छोरासहित पाँचै जना अपाङ्गता भएका व्यक्तिले सरकारबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका छन् । 

दृष्टिविहीन पाँचै जनालाई जीवनयापन गर्न समस्या भइरहेको बताइएको छ । 

दृष्टिविहीन शम्भुको दुई छोरा र दुई छोरी छन् भने शिवनारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरी रहेका छन् । 

राज्यबाट पाउने सेवा र सुविधाबाट वञ्चित भएपछि छोराछोरीलाई पालनपोषणमा निकै समस्या भएको पीडित शम्भुले बताउनुभयो । 

उनीहरुले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधा पाए पनि पछिल्लो दुई वर्षयता कुनै सुविधा नपाएको गुनासो गरेका छन् । 

सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो कार्ड र सामान्य अपाङ्गलाई हरियो कार्ड दिने व्यवस्था गरेको छ । रातो कार्ड पाउन सरकारी कार्यालय, सगरमाथा अपाङ्ग सङ्घलगायतका विभिन्न निकायमा आफू महिनौँ दिनसम्म धाउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!