साउदी अरबबाट दुई महिना बित्दा पनि शव आएन

Posted on: 01 Feb, 2017

माघ १९, राजविराज | वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । 

सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ । 

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना गरेपनि उनको मृत्यु भएको थियो । 

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव नआउँदा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन् । 

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्को शव नेपाल आउन नसकेको विमलादेवीले बताइन् । 

यता बहादुरको दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन् भने उनको सद्गत नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले जानकारी दिनुभयो । 

यसैबीच, मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!