सप्तरीमा भएका दुई दुर्घटनामा दुईजनाको मृत्यु

Posted on: 22 Mar, 2017

चैत ९, राजविराज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्ँिकदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन । 

मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ । 

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ । पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ । 

यसैबीच, सोमबार बेलुका परेको असिनाका कारण सप्तरीको पूर्वी भेगका आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको भन्दै रुपनगर आँप उत्पादक कृषक समूहले क्षतिपूर्तिको माग गरेका छन् । समूहका अध्यक्ष तीर्थराज पोखरेलले कृषकका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै क्षतिपूर्तिको माग गर्नुभएको हो । 

परेको असिनाबाट जिल्लाको पूर्वी तथा उत्तरी भेगको सीतापुर, महुली, जण्डौल, ठेलिया, रुपनगर, धरमपुर, कञ्चनरुप नगरपालिको विभिन्न भागमा लगाइएको आँप, गहुँ र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । गरिब किसानको हानि–नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनसमेत माग गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!