सप्तरीको शम्भुनाथ मन्दिरमा दर्शनार्थीको भीड

Posted on: 13 Feb, 2018

फागुन १, सप्तरी | हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा आज बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ । 

शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनिआज बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् । 

विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै सहभागी भएका छन्् । 

त्यस्तै राजविराज नगरपालिका– १ मा रहेको शिव मन्दिर, महदेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कंकालनी नगरपालिका – २ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ | रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!