सप्तरीमा प्राधिकरणले ४८७ जनाको लाइन काट्यो

Posted on: 16 Feb, 2018

फागुन ४, राजविराज | नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । 

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिनुभयो । 

त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत उपकरणसहित ४४२ जनामाथि कार्वाहीसमेत गरेको उहाँले बताउनुभयो । तीमध्ये २६३ जनालाई र १६९ वटा उपकरणमाथि कार्वाही गरेको उहाँले भन्नुभयो । 

साथै, विद्युत् चोरी नियन्त्रण गर्ने अभियानका क्रममा पानी तान्ने मोटर, टेलिभिजन, पंखा, फ्रिज, हिटर लगायतका उपकरणसमेत बरामद गरेको बिद्युत् प्राधिकरणले जनाएको छ । 

यस्तै, विद्युत् हुकिङ नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिबाट रु १३ लाख २५ हजार ५ सय ७३ राजश्वसमेत असुली गरिएको छ । 

त्यस्तै, बाँकी बक्यौता रहेका ग्राहकबाट रु ८२ लाख ६५ हजारसमेत राजश्व असुली गर्न सफल भएको प्रमुख साहले जनाकारी दिनुभयो । 

यसैबीच, सप्तरी जिल्लामा विद्युत् हुकिङ बढेको जनगुनासो पाएपछि अहिले पनि जिल्लाको विभिन्न ठाउँमा विद्युतचोरी नियन्त्रण जारी राखेको प्राविधिक प्रमुख साहले बताउनुभयो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!