सप्तरीमा गाउँपालिकाका सुरक्षा गार्डको कुटपिटबाट हत्या

Posted on: 17 Dec, 2018

पुस २, सप्तरी | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । 

गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

मिश्रका श्रीमती, दुई वर्षीय छोरा र बृद्ध आमा बुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । 

प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजतलास तथा अन्य अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । मिश्रको हत्यामा संलग्न व्यक्तिको पहचान भइसकेकाले अविलम्ब पक्राउ पर्ने प्रहरी उपरीक्षक विष्टले विश्वास व्यक्त गर्नुभयो । 

प्राध्यापक सङ्घमा प्रगतिशील विजयी 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज एकाइको आइतबार अबेर सम्पन्न निर्वाचनमा प्रगतिशील पक्ष विजयी भएको छ । प्राध्यापक सङ्घको अध्यक्षमा उमेशकुमार यादव विजयी भएका छन् । राजविराज क्याम्पसमा सम्पन्न निर्वाचनमा यादवले प्रतिस्पर्धी शिवनारायण यादवलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

सङ्घको उपाध्यक्षमा प्रजातान्त्रिक समूहका सुरेशकुमार साह, सचिवमा उमेशप्रसाद यादव विजयी भएका छन् । सहसचिवमा प्रगतिशीलका मानसकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन समितिका सदस्य सुरेन्द्र गुप्ताका अनुसार सदस्यमा राजीवकुमार मिश्र, महानन्द झा, सुमनप्रसाद सिंह, शिवनारायण यादव, शिवेन्द्रबहादुर सिंह र रामाशिष यादव रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!