पेट्रोलपम्पमा सिलबन्दी

Posted on: 18 May, 2019

जेठ ४, सप्तरी | गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज सिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा सिलबन्दी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताउनुभयो ।

यसैबीच सिलबन्दी गरिएको पर्म्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिनुभयो ।

जिल्ला बार एकाइमा साह निर्वाचित 

सप्तरी  जिल्ला अदालत बार एकाइको अध्यक्षमा अधिवक्ता डोमन साहको प्यानल विजयी भएको छ । निर्वाचनको मत परिणामअनुसार प्रगतिशील, पेशागत, मधेशी आदिवासी, जनजाति तथा समावेशी समूहबाट उहाँसहित प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले बताउनुभयो । अध्यक्षमा साहले ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी अधिवक्ता महेश्वर साहले ३२ मत प्राप्त गर्नुभयो । 

समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद देव, सचिवमा ओमप्रकाश यादव र कोषाध्यक्षमा शङ्करकुमार मिश्र विजयी हुनुभयो । सदस्यमा रामनरेश दास, शम्भुकुमार यादव, इन्द्रकान्त चौधरी, सुरेशकुमार सिंह र शिवनारायण यादव विजयी हुनुभएको छ ।

यसैगरी सोही प्यानलबाट केन्द्रीय पार्षद्मा केशरलाल खङ्ग, कर्मचन्द चौधरी, उमेशनाथ शरण र वीरबहादुर कडारी (सागरवीर कडारी) विजयी हुनुभयो । स्वतन्त्र पेशागत कानून व्यवसायी समूहबाट केन्द्रीय पार्षदमा अधिवक्ता कमलकुमार यादव विजयी हुनुभएको  छ । गत वैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन सोही समूहबाट सहसचिवमा रञ्जिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!