केटी साथी भेट्न गएका युवकलाई स्थानीय युवाहरुले कुटेर मारे

Posted on: 26 Jun, 2019

असार ११, सप्तरी (रासस) | राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत बिराजीको युवाको समूहको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । सोमबार राति कुटपिटबाट घाइते भएको अवस्थामा प्रहरीले राजविराज–६ खर्साल टोलबाट उद्धार गरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना गराएको थियो । 

त्यहाँ उपचार हुन नसकेपछि आज बिहान नोबेल अस्पताल विराटनगर पुर्याइएको र उहाँको आज दिउँसो मृत्यु भएको मृतकका बुबा उपेन्द्र यादवले जानकारी दिनुभयो । मृतकका बुबाले हत्यामा संलग्न भएको आरोपमा आज अपरान्ह नौ जना विरुद्ध उजूरी दिनुभएको छ । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा आजै शव परीक्षण भई आजै शव ल्याउने तयारी भइरहेको बताइएको छ ।  

बिराजीलाई आफ्नो केटी साथी भेटन खर्साल टोल गएका बेला सोमबार राति स्थानीय युवाहरुले कुटपिट गरेको बताइएको छ । हत्याबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!