सर्लाहीमा हत्या गरिएका महतोका हत्यारा उम्काउने प्रयास गरेको आरोप

Posted on: 31 Oct, 2018

कात्तिक १४, सर्लाही (रासस) | सर्लाहीको रामनगर–४ बोहर्वामा हत्या गरिएका रामविलास महतोका हत्यारालाई उम्काउने प्रयास भएको नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाउनुभएको छ । 

मङ्गलबार नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका कार्यकर्ताको अवस्था बुझ्न सर्लाही अस्पताल मलङ्गवा आउनुभएका निधिले गोली हान्ने व्यक्तिको नाम घाइतेले बताइरहँदासमेत प्रशासनले पक्राउ गर्न नसक्नु उदासिनता रहेको भनाइ थियो । हत्यारालाई तत्कालै पक्राउ नगरिए प्रदेश नं २ का आठवटै जिल्लामा बिहीबारदेखि आन्दोलन शुरु गरिने उहाँले चेतावनी दिनुभयो । 

अपराधीलाई कानूनको दायराभित्र ल्याइन्न भने त्यसको परिणाम गम्भीर हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयोे । काङ्ग्रेसका कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । मलङ्गवाको बजार क्षेत्रमा गरिएको प्रदर्शनमा उपसभापति निधि, पार्टी प्रवक्ता शर्मा, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, पूर्वमन्त्री महेन्द्र यादव, जीतेन्द्र देव, सङ्घीय सांसद अमरेशकुमार सिंहलगायत प्रदेश नं २ का आठवटै जिल्लाका सभापतिसमेत सहभागी हुनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालय पुगेका नेताले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र पठाएको छ । मृतकलाई शहीद घोषणा, घाइतेको राज्यतर्फबाट उपचार, दोषीलाई कारवाही, मृतकका परिवारलाई तुरुन्त राहत उपलब्ध गराउनुपर्ने र जिल्लामा शान्ति सुरक्षाको पूर्ण व्यवस्था मिलाउनुपर्ने लगायतका माग ज्ञापनपत्रमार्फत गरिएको छ । 

झडपमा गोलीको छर्रा लागेर सात जना घाइते भएका छन् । झडपमा दुवैतिरबाट ढुङ्गामुढा हुँदा गाउँको दर्जनभन्दा बढी घरको छानामा क्षति पुगेको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता नेकपाका नेता शिवपुजन रायले आफ्ना कार्यकर्ताको नागरिकता सिफारिश वडा नं ४ का वडा अध्यक्ष रामनरेश महतोले नगरेपछि विवाद उत्पन्न भई झडपसमेत हुन पुगेको बताउनुभयो । झडपमा गोली कसले चलायो आफूहरुलाई थाहा नभएको उहाँले जानकारी दिनुभयो । घटनापछि धेरै नेकपा कार्यकर्ता, समर्थक पुरुष व्यक्तिले गाउँ छाडेका बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!