दलित केटीलाई बुहारी अस्विकार गरेपछि...

Posted on: 11 Jun, 2018

जेठ २८, सर्लाही । सर्लाहीमा एक जोडीले अन्तरजातीय विवाह गरेपछि केटा पक्षको घरका सदस्यहरुले अस्वीकार गरेको छ | घरपरिवारले अस्वीकार गरेपछि उनिहरु न्याय पाउनको लागि अधिकारकर्मीहरुको शरणमा पुगेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ निवासी राम केवल कोइरीका २१ वर्षिय छोरा श्रीराम महतो कोइरीले सोही गाउँकी २२ वर्षिया सुलेखा कुमारी राम(नाम परिवर्तन गरिएको )सँग २०७४ साल माघ १० गते भारतको बिहार राज्य सितामढी जिल्ला अररिया गाउँको एक मन्दिरमा विवाह गरेका थिए । छोराले एक दलित केटीलाई आफ्नो घरको बुहारी बनाएको थाहा पाए पछि निजका बुवा लगायत घरका अन्य सदस्यले उनिहरुलाई घरमा राख्न अस्विकार गरेका थिए | पिडित नवदम्पती आफुहरु उपर भएको अन्यायको गुहार लगाउँदै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा तराई मानवअधिकार रक्षक संजालको शरणमा पुगेका हुन् ।

संघ र संजालको शरणमा पुगेर आफुहरुलाई न्याय दिलाएर घरमा बस्ने वातावरण बनाइदिन भन्दै निवेदन दिएपछि संघका संयोजक राजेश पासवान र संजालका मानवअधिकार अधिकृत मुकेश मिश्र तथा दलित अधिकारकर्मीहरुको पहलमा तत्कालै न्याय दिलाइ सँगै बस्ने वातावरण मिलाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दिएका छन् ।

यसैगरी गत बुधबार २३ गते सदरमुकाम मलंगवा नगरपालिका स्थित गणेशिया टोलमा एक दलित युवती माथि भएको बलात्कारको घटनामा दोषीलाई समेत तुरुन्त करवाहीको माग गर्दै जिप्रकामा निवेदन दर्ता गराएको संघका संयोजक पासवानले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!