मलंगवा नगरपालिकामा जनप्रतिनिधि आएको ८ महिना बितिसक्दा कुनै परिवर्तन भएन

Posted on: 07 May, 2018

वैशाख २४, मलंगवा | सर्लाही जिल्लाकै सबै भन्दा पहिलो एवं पुरानो नगरपालिका भनेर स्थापित सदरमुकाम मलंगवाका स्थानीयबासीहरुले विकास, निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा अनेकौ सपनाहरु बुनेका थिए ।भर्खरै सम्पन्न ऐतिहासिक स्थानीय तहको निर्वाचनबाट नगरपालिकाले अभिभावक पनि पायो । तर पनि अहिले यो नगरपालिका बिस्तारै बिस्तारै नरकमा परिणत हुँदै गइरहेकोले मलंगवाबासी मर्माहत भएका छन् । 

मलंगवामा जताततै फोहोर को डंगुर, जाम भइसकेका नाला, जताततै सडकमा खाल्डाखुल्डी र त्यसमा जमेका पानीले भरिभराउ छ । गर्मीको महिना सुरु हुँदा नहुँदै फेरि तराईका केहि जिल्लामा डेंगु रोगको संक्रमण देखापर्न थालेको छ ।मलंगवा पनि डेंगुको उच्च जोखिममा रहेको नगर हो । गतवर्ष सर्लाहीको हरिऔन नगरपालिकामा पन्द्रजनामा डेंगुको संक्रमण प्रमाणित भएको थियो भने मलंगवा नगरपालिका पनि उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत प्रभाकर झाले बताउनु भएको थियो । 

यो गत वर्षको कुरा भएपनि समय र परिस्थिती सबै गत वर्षको भन्दा अरु विकराल भएको छ । लामखुट्टेको टोकाईबाट नगरबासी हैरान भएका छन् । साँझ, बिहान, दिउँसो जुनसुकै समय र स्थानमा लामखुट्टेको टोकाई र आक्रमणबाट वचन मुस्किल परेको छ । तर लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने ? यस्को टोकाईबाट नगरवासीहरु लाई कसरी सुरक्षित गराउने भन्ने तर्फ स्थानीय सरकार मौन छ ।

जननिर्वाचित जनप्रतिनिधिहरु आएको आठ महिना भइसकेको छ । तर विभिन्न समस्याहरु लिएर नगरपालिका तथा वडा कार्यालयमा पुग्ने गरेकका सेवाग्राही जनताहरुले आफैले जिताएका वडा अध्यक्ष संग अहिलेसम्म आठ पटक पनि भेट्न पाएका छैनन्, स्थानीय एक गैरसरकारी संस्थाकर्मी कुशेश्वर प्रसाद यादवले भन्नुभयो ।भेटघाट त परै जावोस् उनीहरूको फोन समेत उठ्दैन , उहाँले थप्नुभयो । मलंगवालाई नमुना नगरपालिका बनाइने, स्मार्ट सिटीमा परिणत गरिने भन्ने भाषण जनप्रतिनिधिहरुको भाषणमा बेलाबेलामा सुनिन्छ ।कस्तोखालको नमुना बन्दैछ मलंगवा, यी सब नगरबासीहरु बिच हुने बिहान बेलुकाको चिया गफ भएको छ।

आफुले भोट दिएर जिताएका आफ्ना जनप्रतिनिधिसंग भेट गर्न पाउने कि नपाउने ? भेट गर्न कहाँ सम्पर्क गर्ने ? फोन किन उठ्दैन ? नगरपालिकाको पैसाले किनेको सिम र मासिक फोन कै लागि नगरसभाबाट अनुमोदन समेत गरिएको खर्च केका लागि हो, फोन नै उठ्दैन भने ? अब यि सबै प्रश्नहरुको जवाफ जनताले माग्ने छ ती नेताहरु संग समाजसेवी रामहरि खडकाले भने । कर्मचारीकाे उपस्थिति नगरपालिकामा किन सुन्य छ ? चुनाबमा देखिएको बेला देखि दिनदिनै नगरपालिकामा धाउँदा पनि जनताको प्रतिनिधि भनाउँदाहरू लाई देख्न नपाएको धेरै समय भइसकेको जनगुनासो ब्यापक रुपमा बढिरहेको उहाँले बताउनुभयो । नागरिक समाजका अगुवा राधेश्याम साह "मलंगवा लगायत जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिधिहरुले चालु आर्थिक वर्षको अन्त अन्तमा आएर समेत कुनैपनि किसिमको उपलब्धि मुलक कार्य सम्पादन गरेर देखाउन नसकेको "बताउनुहुन्छ । 

२० वर्ष पहिला मलंगवा नगरपालिकाको अवस्था जस्तो थियो उस्तै छ ।जनप्रतिनिधि पाइसके पनि अवस्था बदलिएको छैन । जल निकासीको उचित व्यवस्थापन नहुँदा सानो पानी पर्दा पनि नगर जलमग्न हुने गर्छ, स्थानीय एक मेडिकल स्टोर्सका संचालक शुसिल अग्रवालले बताउनुभयो । स्थानीय तहको चुनाव हुनुभन्दा पहिले देखि नै बनाउन सुरु गरिएको नालको निर्माणकार्य हालसम्म अधुरै भएकोले लामखुट्टेको बृद्धिहुन सजिलो भएको छ, तर मेयरले साहबल कुनै वास्ता नगरेको उहाँले बताउनुभयो । यस बारेमा मलंगवा नगरपालिकाका मेयर निरसाल साह संग कुरा गर्दा अबको १५ दिन भित्र नगरमा लामखुट्टेको औषधी छर्किने र विकास निर्माणको कामले समेत अब तिब्रता पाउने बताउनु भयो । मेयर साहले जेसुकै दावी गरेपनि नगरपालिकामा जनप्रतिनिधि आएको ८ महिना बिती सक्दा पनि कुनै किसिमको परिवर्तन नभएको आमजनताहरुको गुनासो रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!