सर्लाहीमा पिकनिक गएको विद्यार्थीको बस दुर्घटना हुँदा २ को मृत्यु, ५० घाइते

Posted on: 02 Jan, 2017

पुस १८, सर्लाही । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी पिकिनिक गएको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।  यस्तै दुघटनामा ५० भन्दा बढी घाइते भएका छन् ।

हेटौंडाको सहीद स्मारकबाट पिकनिक खाएर घर फर्कदै गरेको ना३ख ७६६८ नम्बरको रिजर्ब बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलामा आइतबार राति दुर्घटना भएको छ ।

सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यू र सोही ठाउँ वडा ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । मृतकको शव वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा पठाएको छ । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ वर्षको अवसरमा ‘पिकनिक’ गएका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!