भोलि घर आउँछु भनेका श्रीमानले जेल परें भनेर फोन गरेपछि...

Posted on: 07 Apr, 2017


चैत २५, सर्लाही । साँझ पखको समय थियो । सधैं हँसिलो रहने पथरकोट ३ की ल्यास्याङ्ग मायाको परिवारका सदस्य निराश छन् । 

उनीहरु  निराश हुन थालेको तीन महिना जति भयो । ल्यास्याङ्ग आमा छोरा दुवै सँगै बसिरहेका थिए । श्रीमान् चन्द्रबहादुर कल्तानको कुरा निकाल्ने बितिकै छेउमा बसेका छोरा पेमाको अनुहार मलिन भयो । ल्यास्याङ्ग मायाले नरोउ बाबु भन्दै अँगालो मारिन् । एकछिन वातावरण शान्त भयो ।

ल्यास्याङ्ग मायाले भन्नुभयो ‘जिन्दगी जिउन सहज नहुने रहेछ । परिवार र छोराहरुको लागि घटनालाई नजरअन्दाज गरेर पीडा सहेर भएपनि सहज मान्नु पर्दो रहेछ ।’ तीन महिना अघि पुस २६ गते आज त मेरो ड्युटीको अन्तिम दिन हो बुढी भोलि म घर आउँछु भनेर श्रीमान् चन्द्रबहादुरले फोन गरेको कुरा अहिले पनि  ल्यास्याङ्ग मायाको कानमा गुन्जिरहेको छ ।

तर आउँछ भनेको दिन श्रीमानले ल्यास्याङ्गलाई फोन गर्नुभयो । त्यसैले उहाँले यतैबाट फोन गर्नुभयो, तर फोन लागेन । यो क्रम चार दिनसम्म रहिरह्यो । चार दिनसम्म पनि श्रीमान्को फोन नउठेपछि ल्यास्याङ्ग मात्रै होइन पुरै परिवार नै आत्तिए । पाँच दिनपछि ल्यास्याङ्गलाई श्रीमानले फोन गर्नुभयो तर आउने समय बताउनुभएन । जेलमा परेको छु पो भन्नुभयो । ‘उहाँको आवाज सधैं भन्दा भिन्न थियो । रुन्चे स्वरमा बुढी म जेलमा परेको छु मलाई चाँडो निकाल भन्नुभयो त्यसपछि त म रिङगटा लागेर थुचुक्कै बसेंछु ।’

त्यतिबेला बेहोस जस्तै भएकी ल्यास्याङ्ग केही समयपछि त्यही नम्बरमा फोन गर्दा श्रीमान जेल पर्नुको कारण थाहा पाउनुभयो । ‘कम्पनीको गाडी छोडेर ट्वाइलेट गएका बेला गाडी चोरिएपछि त्यही आरोपमा प्रहरीले पक्रेको रहेछ ।’ ल्यास्याङ्गले सुनाउनुभयो ‘अहिले त  प्रहरी र कम्पनीको साहु मिलेर गाडी बेचेर खाएको आरोप लगाएका छन रे ।’ तर ल्यास्याङ्गलाई श्रीमानले आफूलाई गाडी नबेचेको भन्दै जेलबाट निकाल्न आग्रह गरिहरनुभएको छ ।

उहाँ आफैंले केही गर्न सक्ने कुरै थिएन । त्यसैले अहिले उहाँले सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रमा पुगेर निवेदन दिनुभएको छ । सूचना केन्द्रले उहाँलाई श्रीमानको उद्धारका लागि प्रयास गर्ने आश्वासन दिएको छ । यो आश्वासनले केहीदिन त मन हलुङगो भएको थियो ल्यास्याङ्गको तर तीन महिनासम्म पनि केहि खबर नआएपछि त्यो आशा निरासामा बद्लिएको । त्यसैले उहाँ श्रीमानलाई घर झिकाइदिने व्यक्ति र संस्थाको पर्खाइमा हुनुहुन्छ । 

छोरालाई शिक्षकको आश्वासन— तिम्रो बुवा आम माफीमा फर्किन्छन् 

चन्द्रबहादुरका छोरा पेमा अहिले ३ कक्षामा पढ्छन । उनका बुवा साउदीमा जेल परेको कुरा स्कूलका शिक्षकलाई थाहा छ । परिवारका सबै आत्तिएका छन् । तर शिक्षकहरुले दिने आश्वासनले पेमालाई बुवा घर फर्किनुहुन्छ भन्ने आशा पनि छ । ‘शिक्षकहरुले अब साउदीमा आम माफि सुरु भएकाले तिम्रो बुवा फर्किनुहुन्छ भन्नुहुँदो रहेछ मलाई आएर त्यही कुरा सुनाउँछ’ ल्यास्याङ्गले भन्नुभयो । 

तर रेडियोमा उहाँले आममाफीको योजना कम्पनी छोडेर भागेर काम गर्ने र काम गर्ने क्रममा श्रम अवधी भन्दा बढि बसेका कामदारहरुलाई मात्रै हो भन्ने सुन्नुभएको छ । त्यसैले छोराले भने जसरी श्रीमान फर्किन पाउलान् भन्ने लाग्दैन । -उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!