महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न

Posted on: 01 Aug, 2018

साउन १६, गौशाला (रासस) | विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ । 

आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । 

करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको जेलर ठाकुरले बताउनुभयो । 

चार दिनदेखिको अविरल वर्षाका कारण कारागारको चारैतिर पानी नै पानी भएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । 

वर्षाको पानीले कारागारको बाहिर मुलगेटभित्र कैदीबन्दी प्रवेश गर्ने मुलढोकासम्म पानी भरिएको चौकीदार श्रीनारायण महतोले बताउनुभयो । यसरी लगातारको वर्षाका कारण कारागार जलमग्न भएपछि कारागारको कामकाज प्रभावित भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!