सर्लाहीमा गाँजासहित दुई जना पक्राउ

Posted on: 26 Feb, 2019

फागुन १४, सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्र्याक्टर धनी २९ वर्षीय मङ्गलसिंह मोक्तान रहेका छन् । सिन्धुलीबाट गाँजा लिएर सर्लाहीतर्फ आउँदै गरेको अवस्थामा दुबैलाई वाग्मती नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

ज ३ त ७३८७ नम्बरको ट्र्याक्टरको ट्रेलरको मुनि लुकाएर ३१ किलो गाँजा सर्लाहीतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुबैलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । 

प्राप्त सूचनाका आधारमा जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको नायब उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको पनि प्रहरीले जनाएको छ । 

सिन्धुलीबाट आउने गाँजा सर्लाहीको बाटो हुँदै भारतको विहार राज्यमा पुर्याउँदै आएको प्रहरीको अनुमान छ । यसभन्दा अघि तस्करले सर्लाहीका पूर्वी क्षेत्रबाट गाँजा तस्करी गर्दै आएको थियो । तर, पूर्वी क्षेत्रबाट प्रहरीले धमाधम गाँजा पक्राउ पर्न थालेपछि तस्कर जिल्लाका पश्चिमी क्षेत्रको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!