सर्लाहीमा तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण शुरु

Posted on: 01 Mar, 2020

शङ्खर पहाडी, फागुन १८, सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताउनुभयो । 

क्यान्सरपीडित तथा ज्यान गुमाउने अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले बताउनुभयो । दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीले बताउनुभयो । उक्त टोलका दुई÷तीन जनाको उपचार आफूले गरेको र सो टोलमा पिउने पानीमा समस्या रहेको विषय थाहा पाएको डा अधिकारीले बताउनुभयो । 

क्यान्सरपीडित टोलमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण शुरु गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिडिइ राजेश कुशवाहले बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा समाचार गाउँमा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायतका सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको कुशवाहले बताउनुभयो ।

पानी परीक्षणबाट टोलका चापाकलको पानीमा अत्यधिकमात्रामा आर्सेनिक फेला परेको छ । परीक्षणका क्रममा चापाकलबाट सङ्कलन गरेको पानीको नमूनाबाट ०.०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले बताउनुभयो । सामान्यतया मानव स्वास्थ्यका हिसाबले ०.०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ । पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी सङ्कलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ । पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाका सिडिइ कुशवाहले बताउनुभयो । वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेकाले तत्कालका लागि टोलको दक्षिण क्षेत्रमा ठूलो बाोरिङ गाडेर मेसिनमार्फत प्रभावित टोलमा शुद्ध पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

टोलका झण्डै ४०० परिवारमा क्यान्सरको त्रास रहेको भन्दै चापाकलको पानी प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन । विगत सात वर्षअघिदेखि टोलका केही चापाकलमा पहेँलो पानी आउने गरेको स्थानीय अमरलाल तामाङले बताउनुभयो । उहाँका अनुसार नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने, लुगा धुँदा सफा नहुने गरेको छ । वडा कार्यालयले १६ क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरेको र त्यसमध्ये केही उपचारका क्रममा रहेका तथा केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!