सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी, अवैध क्रियाकलापमा आएन कमी

Posted on: 17 May, 2020

जेठ ४, सर्लाही | भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

सोह्र बेसक्याम्प र ८२ ड्युटी पोष्ट बोर्डरमा करिब ८० देखि १०० मिटरको दूरीमा ५०० सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो ।

सीमानाका खुला रहेका र पछिल्लो क्रममा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको भए पनि आपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३.५ किलोमिटर दूरीमा करिब ५०० जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपालमा लागुऔषध तथा हातहतियार भित्रने क्रम निरन्तर रहेको छ । 

सोही क्रममा जिल्लाको विष्णु गाउँपालिका–४ बाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बगैँचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले ती दुई जनाको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको स्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको जिकिर सशस्त्र प्रहरीको भए पनि उनीहरूको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ भने नेपालमा गैरकानूनी क्रियाकलाप त्यत्तिकै भइरहेका छन् । त्यस्तै भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम पनि थप बढेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!