राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण

Posted on: 07 Aug, 2020

शङ्खर पहाडी,साउन २३, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाभित्र पर्ने अधिकांश पक्की पुल जीर्ण बनेका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारीसाधन आवतजावत गर्ने मुख्य÷मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत, सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । 

करिब ४० वर्षपहिले तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण गरिएका पूर्वपश्चिम राजमार्गमा रहेका पुलको अवस्था दिन प्रतिदिन बिग्रिदैँ गएको छ । पुलमा भारवहन क्षमताभन्दा अत्याधिक लोड राखेर मालबाहक सवारीसाधनहरू गुडेपछि पुलको अवस्था बिग्रिँदै गएको हो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने पुलहरूलाई पुनः निर्माणमा राज्यले चाँसो नदिँदा यहाँका पुलहरूको अवस्था बिग्रिँदै गएको पाइएको छ । सोभियत सङ्घले निर्माण गरेको बखत ६ चक्कासम्मका सवारी साधनहरू गुडे पनि हाल १० चक्का, १२ चक्का, १४ चक्का हुँदै १८ चक्का, २४ चक्का भएका मालबाहक सवारीसाधन गुडेपछि पुल र सडकको अवस्था कमजोर बन्दै गएको हो ।

अत्याधिक भार वाहन रोक्न र सुधार गर्न राज्यले बेलैमा चाँसो नदेखाउँदा अहिले पुल र सडक जीर्ण भएको प्रदेश नं २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । 

वाग्मती नदीको पुल पुरानो र जीर्ण भएकाले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा छ । सर्लाही र रौतहटको सिमानामा पर्ने वाग्मती नदीमा रहेको पुल मर्मतसम्भारको अभावमा दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । हिउँदको समयमा जसोतसो सवारीसाधन सञ्चालन भए पनि वर्षा लागेपछि पुलमा बनेका खाल्डामा पानी जम्दा सवारीसाधन आवतजावतमा समेत समस्या सृजना हुने गरेको छ भने पुलमा ठूलाठूला खाल्डा बनेका कारण यात्रा पनि जोखिमपूर्ण बनेको छ । 

पुलको बीचबीचमा ठूलाठूला खाल्डा परेका कारण सवारी दुर्घटना हुनाका साथै साना सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । पूर्वपश्चिम राजमार्गको जिल्लास्थित ३० किलोमिटर सडकखण्डमा ठूला ६ र साना १२ गरी कूल १८ वटा पुल छन् । 

पुल निर्माण भएको लामो समय भइसकेको भए पनि मर्मतसम्भार नहुँदा कति बेला पुल खस्छ भन्ने चिन्ता हुने गरेको सवारीसाधनका चालकको गुनासो छन् । उनीहरुले भन्नुभयो, “पुलको बीचबीचमा खाल्डा परेको छ । खाल्डाबाट जाने कुरा आएन यता उति काटेर सवारी चलाउँदा अर्काे सवारीसाधनसँग ठोकिने चिन्ता बढ्छ ।” यस सडकखण्डको प्रयोग गरेर दैनिक करीब सानाठूला गरी करीब १५ हजार सवारीसाधन  सञ्चालन हुने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सूर्यनारायण यादवले बताउनुभयो ।

“२०२२ सालमा सर्वे भएर २०३२ मा निर्माणसम्पन्न भएको पुल अहिलेसम्म एकपटक पनि मर्मतसम्भार नभएका कारण कुनै दिन पुल भाँचिएर पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन नै ठप्प हुन्छ”, वाग्मती नगरपालिकाकी उपप्रमुख लीला मोक्तानले भन्नुभयो । वाग्मतीको पुलले जिल्लाको वाग्मती नगरपालिका–११ र १२ तथा रौतहटको चन्द्रपुर नगरपालिका–१ लाई जोड्ने गरेको छ भने पूर्वमा जिल्लाको ईश्वरपुर नगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिकालाई जोड्ने गरेको छ । 

पूर्वमेचीदेखि पश्चिममहाकाली जोड्ने पुलको यो अवस्था हुँदा समेत सडक डिभिजन कार्यालय मौन बसेको पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय निकायका जनप्रतिनिधिको आरोप छ । सडक विभागले केही साना पुल र सडक मर्मत गर्ने गरेको भए पनि यो सडकखण्डका ठूला पुलहरुको मर्मतसम्भारमा सडक विभागको ध्यान पुगेको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहटका डिभिजन प्रमुख दरोगाप्रसाद साहले पुलको मर्मत कस्ले गर्ने भन्ने आफूलाई पनि थाहा नभएको बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लामा विभिन्न साना तथा ठूला गरी १८ वटा नदीमा पुल रहेका छन् । सबैको अवस्था जीर्ण रहेकोे छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सिमानामा रहेको फुलजोर नदीको पुलको पनि हालत उस्तै छ भने कालीञ्जोर नदीमा रहेको पुलको हालत पनि उस्तै छ । 

त्यसैगरी लालबन्दी नरगपालिका र हरिवन नगरपालिकाको सीमा लखनदेही नदीमा रहेको पुल पनि बीचबीचमा खाल्डा परेका कारण सवारी आवागमनमा समस्या हुने गरेको छ । यसरी एउटै जिल्लामा रहेका सुदूरपूर्व र सुदूरपश्चिम जोड्ने पुलको अवस्था दयनीय बन्दा पनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहट मौन रहनुले आफूहरुलाई आश्चर्यचकित पारेको लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!