हुलाक टिकट बेच्दै सर्लाही जिप्रका

Posted on: 19 Apr, 2021

वैशाख ६, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्काे रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो । 

सेवाग्राहीसँग व्यापारीले चर्काे रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताउनुभयो । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयबाटै टिकटको बिक्री थालेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

प्रशासन, मालपोत, नापी, स्थानीय निकाय र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम हुलाक टिकटमा कालोबजार भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ । कार्यालय बाहिर १ देखि १०० रुपैयाँसम्मका टिकट किन्न पाइन्छ । तर बाहिरबाट किन्दा यसको मूल्य करीब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही अम्बिका बुढाथोकीले गुनासो गर्नुभयो । कालोबजारी रोक्न जिल्ला प्रशासनले चालेको कदम प्रशंसनीय रहेको सेवाग्राहीले बताएका छन् । त्यस्तै सेवाग्राही फोटोकपी गराउँन जाँदासमेत अन्यन्त्रको तुलनामा दोब्बर दस्तुर लिने गरेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!