मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

Posted on: 13 Jun, 2021

शङ्खर पहाडी, जेठ ३०, सर्लाही (रासस) । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ । 


यस वर्ष जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेकोले त्यसको प्रतिकार्यको अभ्यास भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । वर्षेनी बाढी र डुबानले व्योहोर्नुपर्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न अभ्यासले सहयोग गर्नेछ । 

दक्षिणमा रहेको भारतीय बाँध र राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेलमार्गको बाँधका कारण जिल्लाका दर्जनौँ गाउँ डुबानमा पर्ने गरेका छन् । अभ्यास कार्यक्रमको थालनीमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बाढी आउने सम्भावित खतरालाई ध्यानमा राख्दै नदीको बाँध मर्मत सम्भारको कार्य तीब्र रुपमा भइरहेको जानकारी दिनुभयो ।

पानीको निकास छिमेकी भारततिर भएकोले भारतले निर्माण गरेको बाँधमा पनि निकासको लागि लगाइएको सुलिस गेट नखोल्दा अप्राकृतिक रुपमा जिल्लाका जनतालाई त्रास हुने गरेको छ । प्रमुख जिल्ला  अधिकारी तामाङले भारतसँग पनि निकासको विषयमा छलफल गर्ने बताउँदै बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय प्रशासनले सक्रियरुपमा भूमिका निर्वाह गर्ने जनाउनुभयो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानद्वारा शुरु गरिएको अभ्यासमा बाढीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोट, मोटर बोट प्रयोगसम्बन्धी अभ्यास गर्ने तालीम गरिएको हो ।

बाढीका बेला आवश्यक पर्ने सामग्रीहरु प्रयोग गर्दै संयुक्त अभ्यास सुरु गरिएको सशस्त्र प्रहरी बल १०नं. हेक्वा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताउनुभयो । प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाइटीको टोली उपस्थित भएका छन् भने अस्पताल लैजान लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, प्रजिअ तामाङ, प्रहरीका प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंह, प्रदेशका आठै जिल्लाका  प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक,  नेपाली सेनाका गुल्म पति, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको उपस्थिति छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, सर्लाहीले रोक लगाएको मल वितरणमा  कार्यमा फुकुवा भएपछि किसान खुशी भएका छन् । मल वितरण गर्न जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडलाई प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आदेश दिनुभएको हो । 

कोटाभन्दा बढी मल वितरण भइसकेकाले यसको दुरुपयोग हुन सक्ने भन्दै वितरणमा रोक लगाइएको थियो । 

उखु तथा मकैमा मल छर्ने मुख्य समयमा वितरणमा रोक लगाएपछि  जिल्लाका किसानहरु मारमा परेका थिए । मलको जोहोका लागि किसानहरु कहिले कृषि सहकारी संस्था,कृषि सामग्री तथा साल्ट ट्रेडिङमा धाउने गरेका थिए ।   मल नपाए उब्जनी घट्ने भन्दै किसानहरुमा चिन्तित थपिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!