विप्लपद्वारा कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

Posted on: 03 Apr, 2018

चैत २०, सिन्धुली | कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । 

धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याइएको छ । 

आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति प¥याएका हुन् । 

लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ । 

विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको बताइएको छ । 

विप्लवका कार्यकर्ता सो घटना घटाइ फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो । विप्लवले चन्दा मागेको र दबाब दिएको बारेमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उहाँको भनाइ छ । 

यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताउनुभयो । उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको बताउनुभयो । 

उहाँले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गर्नुभएको छ । उहाँका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था छैन । 

बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उहाँको भनाइ छ । 

यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पुर्याएको आयोजना प्रमुख ढकालले बताउनुभयो । 

सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ । । 

यी घटनाको बारेमा अझैसम्म विप्लव नेतृत्वको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!