सिन्धुलीमा दुई सय पचासभन्दा बढी बालश्रमिक

Posted on: 20 Nov, 2016

मङ्सिर ५, सिन्धुली । ‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस देशैभर विविध कार्याक्रम आयोजना गरी मनाइएको छ ।

सो अवसरमा जिल्ला बालकल्याण समितिले जिल्लास्तरीय मावि खुला निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । “संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको” विषयको निबन्ध प्रतियोगितामा पहिलो हुने जनज्योति मावि फोस्रेटारकी सुष्मा थिङ, दोस्रो हुने भगवती मावि माढीबजारका विशाल श्रेष्ठ र भवानी मावि कत्लेशिखरकी बिना कोइरालालाई जनही रु पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै स्थानीय परिवर्तन जागरण क्लबले सिन्धुलीमा बालबालिकाको अवस्था समेटेर प्रस्तुत गरेको सडक नाटकका कलाकारलाई पनि प्रमाणपत्रले सम्मान गरिएको छ । सो अवसरमा प्रजिअ ताराबहादुर कार्कीले समाजमा द्व्रैध चरित्र भएका शिक्षित व्यक्तिले बाल र महिला अधिकार हनन गर्ने गरेको बताउनुभयो । 

बालकल्याण समिति सिन्धुलीका अध्यक्ष एवम् प्रजिअ कार्कीले सिन्धुलीमा बालबालिकाको स्थिति समेटर तयार परिएको पुस्तक समेत सार्वजनिक गर्नुभएको थियो । सो पुस्तकमा कमलामाई नगरपालिकामा बालबालिकामाथि घरेलु हिंसा, यातायात, होटल, निर्माण क्षेत्र, भरिया, व्यापार लगायत क्षेत्रमा बालबालिका प्रयोग भएको पाइएको उल्लेख छ । 

सिन्धुलीमा २५४ बालबालिका श्रमिक छन् । पुस्तकमा १०४ जना घरेलु हिंसा, ६८ जना यातायात, २३ जना होटल, १७ जना निर्माण, पाँच जना भरिया, १९ जना उद्योग र व्यापारमा, नौ जना खानीमा र नौ जना अन्य क्षेत्रमा कार्यरत रहेको उल्लेख छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!