सिन्धुलीमा जलेर एक जनाको मृत्यु

Posted on: 10 Jul, 2017

असार २६, सिन्धुली । घ्याङलेक गाउँपालिका–५ शान्तेश्वरीको अर्चलेमा आज साँझ एक वृद्धको जलेर ज्यान गएको छ । 

आफ्नै घरमा आगलागी हुँदा ७६ वर्षीय खड्गबहादुर दोङको मृत्यु भएको नेपाली काँग्रेसका नेता खड्गबहादुर वाइवाले जानकारी दिनुभयो । घरमा अचानक आगलागी भएको र हिँडडुल गर्न नसक्ने वृद्ध घरमा एक्लै परेकाले जलेर ज्यान गएको उहाँको भनाइ छ । 

यस्तै आगलागीमा परेर घाइते भएकी मृतककै श्रीमती ७४ वर्षीया काउलीमायाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काउलीमायाको हात र ढाडमा आगोले पोलेको छ । 

आगलागीबाट सात खसीबाख्रा र एउटा गाई मरेको बताइएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुँडा गरी रु चार लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न नसकेको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!