रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 22 Sep, 2018

असोज ६, सिन्धुली | सिन्धुलीको दूधौली नगरपालिकामा युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई हिजो पक्राउ गरिएको र आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान गरेपछि घटनाको यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

स्थानीय बासिन्दाको कडा दबाबपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयवासीले बारम्बार पक्राउ गर्न आग्रह गरे पनि प्रहरीले भगाउन खोजेको थाहा पाएपछि आन्दोलन गर्नुपरेको स्थानीयवासी रवीन्द्र देवकोटाले बताउनुभयो । 

स्थानीयवासीको विरोध र सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले शाहलाई पक्राउ गरेको छ । सिन्धुलीको दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । 

शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् । 

हाल शाहलाई इलाका प्रहरी कार्यलय डकाहामा राखिएको छ । शाहको साथबाट शैक्षिक सामग्री केन्द्रको वैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्नआएको दूधौली नगरपालिका–२ नं वडाध्यक्ष रितेश राउते बताउनुभयो । 

स्थानीयवासीले आरोपितसँग प्रहरीचौकी हत्पतेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको समेत संलग्ना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । 

सुदूरपश्चिम तालीम केन्द्रका नाममा तालीम सञ्चालन गरिएको, फारम भरिसकेपछि उसले देउराली स्कुलमा लगेर छनोट गरेको र त्यसपछि बर्दिवासमा रहेको नवक्षितिज क्याम्पसमा लगेर सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी गराएको थियो । 

यसअघि पनि दूधौली नगरपालिकाको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई ठगी गरी सातजना युवती बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै प्रहरीले दुई वर्षअघि पनि एक जनालाई पक्राउ गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!