चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on: 05 Jun, 2018


जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । 

शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले गैंडालाई खोर(बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन् । यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रुपमा प्रस्तुत हुन्थ्यो । 

“अझै अर्काे ठूलो बोमामा राख्ने बेला भएको छैन, अर्यालले भन्नुभयो, “अर्काे महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ ।” 

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधि र आनीबानीका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन् । 

यहाँ चारैतर्फ काठको फलेकले बारेर माथिपट्टि खुला गरी बनाइएको पिट बोमा छ । अर्का खुला खोरमा लगेर छाड्न समेत भने अलि भइसकेको छैन । अलि बानी परेपछि ती गैंडालाई अली ठूलो खुला खोरमा लगेर राखिने र त्यसपछि चीन पठाइनेछ । 

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ । अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा ल्याइएको थियो । 

अन्य तीनवटा गैंडालाई भने गएको वैशाख महिनामा नियन्त्रमा लिएर बोमामा राखिएको थियो । चिकित्सकका अनुसार अहिले चारवटै गैैंडा तन्दुरुस्त छ । सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदैछ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!