सिन्धुपाल्चोकको कोल्टा डाँडामा यसरी उकालियो खानेपानी, स्थानीयमा खुसियाली

Posted on: 18 Apr, 2018

वैशाख ५, चौतारा (रासस) | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । 

वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो । 

समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइमा रहेको सुख्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको वडाध्यक्ष धु्रवराज गिरीले बताउनुभयो । 

२०७२ सालको विनाशकारी भूकम्पले जिल्लाका धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । त्यसैगरी सो वडामा पनि पानीको स्रोतमा कमी आएपछि वडावासीलाई समस्या पर्दै आएको थियो । 

कुन उपायबाट थप पानी उपलब्ध गराउन सकिन्छ भन्ने चिन्ताले वडावासीलाई सताउन थालेको थियो । त्यसै सन्दर्भमा साविक साँगाचोक गाविसका उपाध्यक्षसमेत रहेका वडाध्यक्ष गिरीले पानी निकाल्ने प्रविधिको खोजीमा झण्डै डेढ वर्षको समय खर्चिएका थिए । 

जहाँ इच्छा, त्यहाँ उपाय भन्ने कहावतअनुसार राजधानीको एउटा कम्पनीमा आफ्नो समस्या सुनाएपछि वहाँको डेढ वर्षको परिश्रमले साकार रुप लिएको छ । वसुन्धरा रानीरोडस्थित डिकेएच रक ड्रिलिङ कम्पनी लिमिटेडले काम थालनी गरेको करीब एक महिनाको अवधिमा सफलता पाएपछि आफ्ना लागि ज्यादै खुशीको क्षण भएको गिरीले बताउनुभयो । 

त्यहाँबाट निस्किएको पानी हाललाई स्थानीयले प्रयोग गर्दै आएको चुलीथुम्की खानेपानी आयोजनाको ट्याङ्कीमा मिसाइने कार्यक्रम रहेको छ । “पानी त निकालियो, तर ट्याङ्की सानो छ” वडाध्यक्ष गिरीले दुखेसो प्रकट गर्नुभयो, “बजेटको अभावमा अर्को ट्याङ्की र पाइप खरिद गर्न भने सकिएको छैन ।” 

प्राविधिका कारण यहाँको सुख्खा डाँडामा पनि पानी निकाल्न सफल भएपछि खानेपानीको अभावमा देशका कतिपय बासिन्दाले बसाइँ सर्नु नपर्ने पाठ भने अवश्य सिकाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!