सिन्धुपाल्चोकका ग्रामीण भेगका जनता सहकारीप्रति आकर्षित

Posted on: 09 Jan, 2017

 राम केसी, पुस २५, चौतारा । सिन्धुपाल्चोकका बासिन्दा सहकारीप्रति आकर्षित हुन थालेका छन् । छरिएर रहेको पँुजी सङ्कलन गरी बचतमार्फत सानातिना आर्थिक गर्जो टर्न उनीहरु सहकारीप्रति आकर्षित हुन थालेका हुन् । 

यसै क्रममा एक घर एक सदस्यको अवधारणासहित ठूलोसिरुवारी गाविसमा हालै नेत्रज्योति बचत तथा कृषि सहकारी संस्था स्थापना भएको छ । संस्थाको सेयर सदस्य रहेका विद्यालयका बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ । संस्थामा एक हजार सात सय ५२ सेयर सदस्य रहेको संस्थाका सचिव नेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

स्थानीय स्वायत्तशासनअन्तर्गत जिल्लामा जिविसको स्थानीय विकास कोषको आर्थिक सहयोगमा ०६७ सालमा राम्चे गाविसमा पहिलोपटक एक घर एक सदस्यको अवधारणमा सो सहकारी संस्था स्थापना भएको थियो । 

त्यसैगरी कालिका, ठोकर्पा, सुनखानी, बराम्ची र नवलपुर गाविसमा पनि प्रत्येक घर समेटिने गरी सहकारीको स्थापना भएको छ । बराम्ची गाविसमा स्थापित महिला बचत तथा ऋण सहकारी संस्थाले भने प्रत्येक घरबाट महिला सदस्य मात्र समेटेको छ । जिल्लामा एक डेढ दशकयता थुप्रै बचत तथा ऋण सहकारी संस्था खुलेका छन् । केही संस्थाले करोडौँको कारोबारसमेत गर्दै आएको छ । केही वर्षअघि खुलेको चौतारास्थित उज्यालो बचत तथा ऋण सहकारी संंस्थाले गत वर्षको भूकम्पमा आफ्ना सेयर सदस्यलाई आर्थिक सहयोगसमेत गरेको थियो । 

जिल्लाको पुरानो सहकारी संस्था चौतारामा जुगल बहुउद्देश्यीय सहकारी संस्था २०३२ सालमा खुलेको थियो । चौतारा, सानोसिरुवारी, पिपलडाँडा, स्याउले, कुबिण्डे, इर्खुलगायत आसपासका गाविसमा रासायनिक मल बिक्री–वितरण गर्ने उद्देश्यले स्थापना भएको थियो । त्यसपछि २०५० सालमा ठोकर्पा गाविसमा दुग्ध उत्पादक सहकारी संस्था स्थापना भएको थियो । मेलम्चीमा २०५२ सालमा जुगल बचत तथा ऋण सहकारी संस्थाको स्थापना लगत्तै २०५३ सालमा चौतारा बजारमा महाकाली बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी करोड माथिको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो । 

सहर बजारमा साना व्यापारीले पनि दैनिक बचत सङ्कलन गर्न थालेका छन् । सङ्कलन गर्ने यस्ता सहकारी संस्था टोलटोलमा खुलेका छन् । जिल्लामा दर्ता भएका सात सय १९ सहकारी संस्था छन् भने दर्ता हुने क्रममा रहेका थुप्रै सहकारी संस्था खुलेका छन् । दर्ता भएकामध्ये बचत तथा ऋण सहकारी संस्था दुई सय ३७, बहुउद्देश्यीय सहकारी संस्था ५८, कृषि सहकारी संस्था एक सय ७८, कफी सहकारी संस्था ११, लघुजलविद्युत सहकारी संस्था ६, दुग्ध उत्पादक सहकारी संस्था एक सय ५१, उपभोक्ता सहकारी संंस्था ५३, विविध १९ र जिल्ला सहकारी सङ्घ ६ सहित कुल सात सय १९ सहकारी संस्था रहेको काभ्रेस्थित सहकारी डिभिजन कार्यालयले जानकारी दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!