सिँचाइकोे कुलो पुग्ने भएपछि स्थानीयवासी हर्षित

Posted on: 09 Jan, 2017

पुस २५, मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको सिप्पालकाभ्रे गाविसमा सिँचाइका लागि कुलो बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित बनेका छन् । 

सदरमुकामबाट सबैभन्दा नजिक रहेर पनि विकट बस्तीका रुपमा चिनिएको जिल्लाको सिम्पालकाभ्रेमा झुप्लिपा खोला सिँचाइ आयोजना निर्माण हुन लागको हो । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनः निर्माणको काम चलिरहँदा पानीबिना काकाकुल बनेको सिम्पालवासीका लागि सिँचाइको कुलो सँगसँगै खानेपानी पनि पुग्ने भएपछि यतिबेला उनीहरु उत्साहित भएका हुन् । झुप्लिपा खोला सिँचाइ आयोजना सम्पन्न भएपछि करिब एक सय १५ घरपरिवार लाभान्वित हुनेछन् । 

सिँचाइ आयोजना निर्माणका लागि रु पाँच लाख खर्च हुने सामुदायिक समन्वयन तथा खाद्य सुरक्षाका दिगो विकास कार्यक्रम ९सबल०का संयोजक तथा इन्जिनियर नरकान्त सापकोटाले जानकारी दिनुभयो । 

पुनः निर्माणको कार्यमा जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सबलले हरेक घरमा पुगेर सुरक्षित आवास निर्माणका लागि जनचेतना फैलाउने र सरकारकाले तोकेको मापदण्डअनुसार घर बनाउनका लागि आवश्यक सम्पूर्ण प्राविधिक सहयोग निःशुल्क रुपमा सञ्चालन गरिरहेको छ । मापदण्डअनुसार घर बनाउन सम्पूर्ण प्राविधिक सहयोगका लागि २० जनाको प्राविधिक टोली खटिरहेको साझेदारी टुकी सङ्घ सुनकोसी संस्थाका कार्यक्रम संयोजक डिल्ली न्यौपानेले बताउनुभयो । 

सबलले जिल्लाको भीमटार–१ बोडगाउँमा रहेको सीमान्तकृत माझी बस्तीमा पनि आँपखोला सिँचाइ परियोजना पनि निर्माण गरेको छ । रु एक लाख ५२ हजारको लागतमा सम्पन्न उक्त सिँचाइले एक सय ८० परिवारको करिब आठ सय रोपनी जग्गामा सिँचाई भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!