सिन्धुपाल्चोकमा महिलाको शव खोलामा भेटियो

Posted on: 10 Mar, 2017

फागुन २७, मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ ज्यामिरेबाट गत फागुन १९ गतेदेखि सम्पर्कविहीन भएकी ४० वर्षीया गोपिनी नेपालीको शव आज फेला परेको छ । 

मेलम्ची नपा–१३ स्थित अँधेरी खोलामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनाप्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेका प्रहरी टोली र आफन्तले दुर्गन्धित अवस्थाको उक्त शव गोपिनी नेपालीकै भएको पुष्टि गरेका छन् । 

इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले शव परीक्षणका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

यसैबीच आज मेलम्ची नपा–१० छापभञ्ज्याङबाट फट्केश्वरतर्फ आउँदै गरेको बा४ख ६७०६ नंको ट्रक अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा उदयपुर घर भई काठमाडौँ कपनमा बस्दै आएका ३५ वर्षीय ट्रक चालक राजन बस्नेत गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!